काँकरभिट्टा । मेचीनगरमा बुधबारबाट सुरु हुने छैटौँ मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
सचिवालय स्रोतका अनुसार एथ्लेटिक्स तथा मार्सल आटका खेल तालिका सार्वजनिक भएको छ ।
सचिवालयका अनुसार पहिलो दिन एथ्लेटिक्सतर्फ ८ सय मिटर दौड तथा लङ जम्पको फाइनलसम्मका खेल हुनेछ ।
त्यस्तै दोस्रो दिन १०० मिटर, १५०० मिटर, ४x१०० रिले एवम् ज्याभलिन थ्रो र हाइजम्पका फाइनल समापन हुनेछ ।
तेस्रो तथा अन्तिम दिन २०० मिटर, ४०० मिटर, ३००० मिटर ४x४०० मिटर रिले तथा ट्रिपल जम्पका फाइनल सम्पन्न हुनेछ ।
समूह खेलतर्फ सहभागी विद्यालय यकिन भइनसकेकाले कबड्डी तथा भलिबलका खेल तालिका निर्माण हुन नसकेको सचिवालयले जनाएको छ ।
भोलि विहान ९ बजेसम्म नाम दर्ता गर्ने विद्यालयका लागि मात्र खेलमा सहभागी गराउने गरी टाइसिट निर्माण हुने सचिवालय स्रोतले बताएको छ ।
प्रतियोगिता आयोजक मूल समिति सदस्य सचिव देबेन्द्र निरौलाका अनुसार हालसम्म ३७ विद्यालयले नाम दर्ता गराएका छन् । निरौलाले सहभागी हुन बाँकी अन्य सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई यथासक्य नाम दर्ता गराउन आग्रहसमेत गरेका छन् ।
जसमा छात्र भलिबलतर्फ ११ र कबड्डीतर्फ ७ एवम् छात्रा भलिबलतर्फ ८ र कबड्डीतर्फ ६ वटा विद्यालय दर्ता भएको सचिवालले जनाएको छ ।
बुधबार उद्धाटन समारोहसँगै प्रतियोगिता सुरु हुनेछ । ट्«याक तथा फिल्डतर्फका खेल काँकरभिट्टा माविको खेल मैदान, भलिबल काँकरभिट्टा क्याम्पसको प्राङ्गण एवम् मार्सल ्रआर्टका खेल काँकरभिट्टास्थित मेची सामुदायिक केन्द्रको सभाहलमा हुनेछ ।


