झापा । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल जेसीज तथा नेपाल जेसीज अन्तर्गत रहेका १८४ भन्दा बढी शाखाहरूको संयुक्त आयोजनामा देशका विभिन्न स्थानहरूमा वृहत् रक्तदान कार्यक्रम तथा रक्तदाता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएका छन् ।
हाल देशका विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा देखिएको रगत अभावलाई मध्यनजर गर्दै सञ्चालन गरिएको यस अभियानमार्फत १,००० भन्दा बढी पोइन्ट रगत संकलन गर्न सफल भएको नेपाल जेसीजले जनाएको छ ।
यस कार्यक्रमले आपत्कालीन अवस्थामा रहेका बिरामीहरूको जीवन रक्षामा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।
“रक्तदान जीवनदान” भन्ने मानवीय भावनालाई आत्मसात गर्दै सञ्चालन गरिएको उक्त अभियान नेपाल जेसीजको राष्ट्रिय अभियान ‘प्रोजेक्ट संकल्प २०२६ : एकताको संकल्प, रूपान्तरणको यात्रा’ अन्तर्गत सम्पन्न गरिएको हो ।
समाजप्रति उत्तरदायी र सेवामुखी सोचका साथ देशभरका शाखाहरूले सक्रिय सहभागिता जनाउँदै अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपाल जेसीजले प्रोजेक्ट संकल्पलाई आत्मसात गर्दै सामाजिक सेवामा समर्पित भई अभियानमा सहभागी सम्पूर्ण शाखा, पदाधिकारी, सदस्य, स्वयंसेवक तथा रक्तदाताप्रति हार्दिक आभार व्यक्त गरेको छ ।
साथै आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा मानवीय सेवाका कार्यक्रमहरूमा निरन्तर सक्रिय रहन सबैलाई अनुरोध गरेको छ ।
यस अभियान अन्तर्गत नेपाल जेसीजका चार क्षेत्रमध्ये मध्य क्षेत्र ‘क’ ले सबैभन्दा धेरै पोइन्ट रगत संकलन गर्दै उत्कृष्ट प्रदर्शन गरेको छ ।
यस उपलब्धिले क्षेत्रीय समन्वय, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको नेपाल जेसीज २०२६ का अध्यक्ष सिनेटर जीवन कार्कीले बताए ।
अध्यक्ष कार्कीका अनुसार नेपाल जेसीजले आफ्नो मूल मन्त्र “Aim, Act, Achieve” लाई व्यवहारमा उतार्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियानलाई निरन्तरता दिएको छ ।
मानवताको सेवामा समर्पित यस संस्थाले भविष्यमा पनि राष्ट्र र समाजको हितका लागि यस्ता रचनात्मक तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।
विश्व रक्तदाता दिवसको अवसरमा सम्पन्न यस कार्य ले एकातर्फ जीवन बचाउने महान् कार्यमा योगदान पुर्याएको छ भने अर्कोतर्फ समाजमा रक्तदानप्रति जनचेतना अभिवृद्धि गर्दै मानवीय सहयोग र सामाजिक एकताको सशक्त सन्देश प्रवाह गरेको छ ।