काँकरभिट्टा । काँकरभिट्टामा सम्पन्न इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कपको उपाधि तराइ प्रेस क्लब दार्जिलिङले जितेको छ ।
काँकरभिट्टा माविको खेल मैदानमा सोमबार भएको फाइनल खेलमा भद्रपुर प्रेस क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै मिरिक दार्जिलिङले उपाधि जितेको हो ।
तराईले उपाधिसँगै नगद ५० हजार रुपैयाँ हात पारेको छ ।
उपविजेता बनेको भद्रपुरले नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
प्रतिस्पर्धात्मक रहेको फाइनल खेलको दोस्रो हाफमा तराईले दबाब सिर्जना गरेको थियो ।
खेलको ३२ औँ मिनेटमा विजेता दार्जिलिङका प्रवेश भुजेलले गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए ।
लगत्तै खेलको ४४ औँ मिनेटमा दावा लामाले गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए ।
खेलमा अन्तिम गोल गरेका दावा फाइनल खेलको म्यान अफ द म्चाय घोषित भए । उनले नगद ११ सय प्राप्त गरे ।
विजेतालाई समापन समारोहका प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलगायतले पुरस्कृत गरे ।
प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल घोषित भए । त्यस्तै उत्कृष्ट फर्वार्ड आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक र उत्कृष्ट गोल किपर भद्रपुरकै सुजक राउत घोषित भए ।

प्रतियोगितामा सर्वाधिक गोल कर्ताको रुपमा विजेता तराई प्रेस क्लबका प्रवेश भुजेल पुरस्कृत भए ।
विधागतरुपमा उत्कृष्ट घोषित सबै खेलाडी जनही नगद १ हजार पाँच सय तथा ट्रफिद्वारा पुरस्कृत भए ।
प्रेस क्लब मेचीनगरद्वारा आयोजना गरिएको दुई दिने प्रतियोगिताको संरक्षकमा मेचीनगर नगरपालिका रहेको थियो ।
प्रतियोगिताको प्रायोजन होटल मेची क्राउन र इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीले संयुक्तरूपमा गरेको आयोजकले बताएको छ ।
मिडिया कपमा भारतका २ तथा नेपालका ६ गरी ८ वटा प्रेस क्लब सहभागी थिए ।
आयोजकका सचिव प्रविण अधिकारीले सञ्चालन र खेल संयोजक खगेन्द्र घिमिरेले स्वागत गरेको समापन समारोहको अध्यक्षता क्लबका अध्यक्ष प्रकाश पौडेलले गरेका थिए ।