काँकरभिट्टा । छैटौँ मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अन्तर्गत धुलाबारी माविले प्रथम स्थान हासिल गरेको छ ।
४२ विद्यालय सहभागी प्रतियोगितामा धुलाबारीले २३ स्वर्ण १५ रजत र ७ काश्य गरी कुल ४५ पदकसहित प्रथम स्थान हासिल गरेको हो ।

योसँगै धुलाबारी माविले लगातार ६ पटक रनिङ शिल्ड जित्ने विद्यालयको रेकर्ड बनाएको छ । धुलाबारीले लागातार दोस्रो पटक रनिङ शिल्ड कब्जा गर्न सफल भएको छ ।
त्यस्तै १२ स्वर्ण १३ रजत र २२ काश्य गरी कुल ४७ पदकसहित बाल सुबोधिनी माविले दोस्रो स्थान हासिल गरेको छ ।

८ स्वर्ण ६ रजत र १ काश्य सहित १५ पदक सहित ज्यामिरगढी मावि तेस्रो भयो ।

५ स्वर्णसहित हिमालयन एकाडेमी चौथो हुँदा ४ स्वर्ण जित्दै आदर्श विद्या मन्दिर पाँचौ र ३ स्वर्णको साथ पवित्र मावि छैटौँ भए । २ स्वर्णसहित लिटल एन्जल्स अंग्रेजी मावि सातौँ स्थानमा रह्यो ।
त्यस्तै १ स्वर्णसहित ११ पदक जितेको इष्ट होराइजन आठौँ, १ स्वर्ण्सहित ९ पदक जितेको आदर्श मावि नवौँ र १ स्वर्णसहित ७ पदक जितेको मेजसा मावि दशौँ भयो ।
त्यस्तै १ स्वर्णसहित ६ पदकको साथ काँकरभिट्टा मावि एघारौँ, १ स्वर्णसहित २ पदकको साथ पुर्वान्चल इङ्लिस स्कुल बाह्रौँ भयो ।
त्यसैगरी दन्तकाली, नर्थपोइन्ट, गंगा मेमोरियल र एभरेष्ट भ्यू अंग्रेजी मावि १ स्वर्णसहित क्रमश १३औँ, १४ औँ, १५ औँ र १६ औँ स्थानमा रहे ।
अन्य विद्यालयले स्वर्ण हात पार्न सकेनन् । काश्य र रजत सहित कुल ३३ विद्यालयले पदक हात पार्दा सहभागी मध्ये १० विद्यालय पदक बिहीन रहन पुगे ।
भलिबलमा एभरेष्ट च्याम्पियन :
छात्र भलिबलमा एभरेष्ट भ्यू अंग्रेजी मावि च्याम्पियन बनेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा धुलाबारी माविलाई तेस्रो सेटमा पराजित गर्दै एभरेष्ट च्याम्पियन बनेको हो ।
जीत हासिल गरेसँगै एभरेष्टले लामो समयदेखि भलिबलमा कायम राख्दै आएको धुलाबारी माविको वर्चस्व तोडेको छ ।

यता छात्रा भलिबलमा भने धुलाबारी मावि पहिलो भएको छ ।
फाइनलमा पुर्वान्चल इङ्लिस स्कुललाई सोझो सेटमा पराजित गर्दै धुलाबारी पहिलो बनेको हो ।
हिमालयन एकाडेमीलाई पराजित गर्दै थेसिस अंग्रेजी माविले छात्रातर्फ तेस्रो स्थान हासिल गर्यो ।
छात्रा भलिबलमा १६ टिम सहभागी हुँदा छात्रतर्फ २० टिम सहभागी थिए ।
त्यस्तै अर्को समूह खेल अन्तर्गत छात्र कबड्डीमा धुलाबारी मावि पहिलो बन्यो ।
बाल सुबोधिनी माविलाई पराजित गर्दै धुलाबारी च्याम्पियन बनेको हो । आदर्श मावि र बलभद्र जनाता मावि तेस्रो स्थान हासिल गरे ।
छात्रातर्फ बाल सुबोधिनीले प्रथम स्थान हासिल गर्यो । बाल सुबोधिनीले धुलाबारीलाई हराउँदै पहिलो बनेको हो ।
तेस्रो स्थान हिमालयन एकाडेमी र अरनिको मावि भए ।
बुधबारबाट सुरुभएको छैटौँ नगरस्तरीय प्रतियोगिताको समापन समारोह शुक्रवार साँझ सम्पन्न भएको छ ।
विजेतालाई समापन समारोहकी प्रमुख अतिथि नगर उपप्रमुख मिना पोख्रेल उप्रेती, शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीलगायतले पुरस्कार वितरण गरे ।
नगर खेलकुद विकास समिति अध्यक्ष तथा आयोजक मुल समिति संयोजक हृदय राजवंशीको अध्यक्षतामा सम्पन्न समापन समारोह तथा समग्र प्रतियोगिताको संचालन विद्यालयकी शिक्षक शुभद्रा भट्टराई अर्यालले गरेकी थिइन् ।