मेचीनगर । मेचीनगर नगरपालिकाअन्तर्गत रहेको शिक्षा, युवा तथा खेलकुद शाखाले एक कार्यक्रमका बीच सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
गतवर्षको शिक्षा दिवसको अवसर पारेर गरिने समारोह तात्कालिन समयमा जेन्जी आन्दोलन पछि उत्पन्न परिस्थतिका कारण रोकिएको थियो ।
सोही कार्यक्रम यसै आर्थिक वर्ष सम्पन्न गर्ने गरी नगरले सोमबार कार्यक्रम आयोजना गरेको जनाएको छ ।
मेचीनगर शिक्षा शाखाले हरेक वर्ष अनिवार्य तथा निःशुल्क शिक्षा ऐन जारी भएको अवसर पारेर हरेक वर्ष असोज २ गते मनाइने शिक्षा दिवसअन्तर्गत भब्य समारोह आयोजना गर्ने गरेको छ ।
मेचीनगर–६, स्थित मेची सामुदायिक भवन काँकरभिट्टामा आयोजित समारोहमा शिक्षक, प्रअ, व्यवस्थापन समिति तथा शिक्षा सम्बन्ध सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधि गरी ८० बढीलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।

सो अवसरमा आधारभूत तह उत्तीर्ण परीक्षा, एसईई तथा कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद तथा सम्मान पत्रद्वारा सम्मान गरियो ।
कक्षा ८ को नगरस्तरीय परीक्षामा ४ जिपीए ल्याउने विभिन्न विद्यालयका १४ जना विद्यार्थीहरुलाई नगद २ हजार र सम्मानपत्र प्रदान गरियो । जसमा सामुदायिकका ३ तथा संस्थागतका ११ जना छन् ।
त्यस्तै एसईई उत्कृष्ट जिपीए ल्याउने विद्यार्थीलाई नगद ५ हजार र सम्मान पत्र प्रदान गरियो ।

४ जिपीए प्राप्त गर्ने इष्टहोराइजन अंग्रेजी माविकी अन्वेशा श्रेष्ठ तथा पारिजात पब्लिक स्कूलकी नुब्सा लिम्बू थलङ सम्मानित भएका । सामुदायिक छात्रा तथा छात्रतर्फ धुलाबारी माविकी कृषा ओझा -३.९६) र सेभियर प्रधान -३.८९) सम्मानित भए ।
त्यसैगरी कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने सामुदायिक छात्रातर्फ धुलाबारी माविकी सञ्जु नेपाल-३.८८), छात्रतर्फ धुलाबारीकै बिक्की थारु-३.८६) तथा संस्थागत छात्रातर्फ हिमालयन एकाडेमीकी रिस्ता नेपाल-३.७१), छात्रतर्फ हिमालयकै प्रशान बस्नेत-३.६०)लाई नगद ५ हजार तथा प्रमाणपत्रले सम्मान गरियो ।
समारोहमा उत्कृष्ट प्रधानाध्यापकतर्फ बलभद्र आधारभूत विद्यालयका निरज पोख्रेललाई भौतिक, शैक्षिक सुधार, समुदाय विद्यालय सहसम्बन्ध, नतिजा सुधारलगायतका आधारमा सम्मान गरियो । त्यसैगरी एसईई २०८१ मा विषयगतरुपमा शतप्रतिशत नतिजा दिलाउन सफल विषय शिक्षकलाई समेत सम्मान गरियो ।

त्यस्तै उत्कृष्ट विद्यालय व्यवस्थापन समितिको रुपमा कृष्ण प्राथमिक विद्यालय व्यवस्थापन समिति सम्मानित भयो । नगरका विद्यालयमा स्वास्थ्य, भौतिक तथा शैक्षिक क्षेत्रमा सहयोग पु¥याउने मेची आँखा अस्पताल, वातावरण संरक्षण शिविरलाई संस्थागत सम्मान गरिएको थियो ।
त्यस्तै एसईई २०८१ मा शतप्रतिशत नतिजा निकाल्ने सामुदायिक तर्फ जनता मावि तेलपानी, संस्थागततर्फ सनसाइन, थेसिस, दुर्गा आवासीय, लिटल एन्जल्स, होलीबेल, बालबाटिका, युनाइटेड तथा आदर्श विद्या मन्दिर अंग्रेजी मावि सम्मानित भए ।
त्यस्तै सेवा निवृत्त शिक्षक, बालविकास सहजकर्ता तथा विद्यालय कर्मचारी दीर्घ सेवा सम्मान प्रदान गरिएको थियो । सो अवसरमा केही विद्यालय कर्मचारी भने कार्यक्रममा सहभागी भएनन् ।

कार्यक्रममा शिक्षक महासंघ मेचीनगर अध्यक्ष होमराज ढकालले शिक्षाका समसामयिक विषयवस्तुमाथी सुझाव तथा टिप्पणी प्रस्तुत गरे । उनले विद्यालय कर्मचारीलाई कहीँ कतैबाट सम्बोधन हुन नसकेको बताउँदै आवश्यक सहयोग गर्न स्थानीय तहलाई आग्रह गरे । ढकालले नगर भरका विद्यालय बीचमा दरवन्दी मिलानलगायतका कार्यमा नीति निर्माण गरी लाग्न आग्रह गरे ।
त्यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले मेचीनगर चाँडै शिक्षाको रुपान्तरणको दिशामा अघि बढ्ने दावी गरे ।
नगर उपप्रमुख मिना पोख्रेल उप्रेतीले केही सामुदायिक विद्यालयहरुको नतिजा उदाहरणीय बन्दै गएको बताउँदै अन्य विद्यालयले समेत असल अभ्यासको सिको गर्दै विद्यालय सुधारमा लाग्न आग्रह गरिन् । उप्रेतीले जेन्जी आन्दोलनका कारण भएको क्षतीमा करोडौंको बजेट खर्च भएको उल्लेख गर्दै बजेट अभावका बीच नगरले शिक्षा क्षेत्रमा योजना अघि बढाइरहेको बताइन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी भने कार्यक्रमको उत्तरार्धमा ब्यस्तता देखाउँदै कार्यक्रम हलबाट बाहिरिएका थिए ।
धुलाबारी माविका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेको कार्यक्रममा बालसुधोधिनी मावि, इष्ट होराइजन, सरस्वती शिक्षा सदनका विद्यार्थीहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले स्वागत तथा औचित्य माथी प्रकाश पारेको कार्यक्रमको अध्यक्षता सामाजिक विकास समिति संयोजक हृदय राजवंशी र सञ्चालन शिक्षा अधिकृत सुनिता भट्टराईले गरेकी थिइन् ।
कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी, व्यवस्थापन समिति पदाधिकारीलगायत ७ सयबढी प्रत्यक्ष सहभागी बनेको शिक्षा शाखा स्रोतले जानकारी दिएको छ ।
पुरस्कार वितरण समारोहमा अनिवार्य सहभागी बन्न मेचीनगर शिक्षा शाखाले नगरका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा प्रअलाई परिपत्र गरेको थियो ।
