मेचीनगर । विद्यालयको बस खरिदका लागि सहयोग संकलन अभियान सुरु गरिएको छ ।
मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले विद्यालयका लागि आवश्यक बस खरिदका लागि पूर्व विद्यार्थी पूनर्मिलन समारोह आयोजना गरी सहयोग संकलन गर्ने निर्णय गरेको थियो ।
समाजले हालै दशैंको अवसर पारेर विद्यालय प्राङ्गणमा वृहत् भेला सम्पन्न गरेको थियो । सोही भेलाले पूर्व विद्यार्थी पर्शुराम पराजुलीको अध्यक्षतामा समाजको नयाँ कार्य समितिसमेत चयन गरेको थियो ।
नव निर्वाचित समितिको बैठकमार्फत सहयोग संकलन अभियान सुरु गर्ने निर्णय भएको अध्यक्ष पराजुलीले जानकारी दिए । बैठकले २० हजार र सोभन्दा बढी सहयोग गर्नेलाई सम्मान पत्रसहित शिलालेख, १० हजार वा सोभन्दा बढी सहयोग गर्नेलाई शिलालेखमार्फत अभिलेख राखिने निर्णयसमेत गरेको छ ।
त्यस्तै ५ हजार र सोभन्दा बढी सहयोग गर्नेहरुको नामावली फ्लेक्स प्रिन्ट तथा सोभन्दा तल सहयोग गर्नेको अभिलेखीकरण विद्यालयमा रहने गरी निर्णय भएको पराजुलीले बताए । पराजुलीका अनुसार सहयोग संकलन अभियान अब सम्पूर्ण पूर्व विद्यार्थी तथा आम शुभचिन्तक माझ पु¥याइने छ ।
शिक्षकहरुको साढे तीन लाख सहयोग
यसैबीच विद्यालयको बस खरिदका लागि पूर्व विद्यार्थी समाजले चलाएको अभियानमा विद्यालयका शिक्षक तथा कर्मचारीहरुको तर्फबाट तीन लाख ५० हजार रकम संकलन भएको छ ।
स्कुल बस खरिदका लागि सबै शिक्षक तथा कर्मचारीहरुबाट स्वतःस्फूर्तरुपमा सहयोग संकलन भएको विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले बताए ।
बस खरिदका लागि नगरपालिकासँग साझेदारी लगानी हुनेछ । पालिकाले बस खरिदका लागि आधा रकम जम्मा गर्न नगरका सामुदायिक विद्यालयहरुलाई आह्वान गरेको छ । यस अघि पालिकाको ५० प्रतिशत लगानी साझेदारीमा धुलाबारी माविले बस खरिद गरिसकेको छ ।
विद्यालयका लागि अति आवश्यक देखिएको बस व्यवस्थापनका लागि पूर्व विद्यार्थीहरुले सुरु गरेको अभियानलाई पृथकरुपमा हेरिएको छ । पूर्व विद्यार्थीहरु सँगै उद्योगी, व्यवसायी तथा आम शुभेच्छुकहरुले समेत सहयोगको हात बढाएको विद्यार्थी समाजले जनाएको छ । अभियानमा जोडिन र यथासक्य सहयोग गर्न समाजले सबैमा अपिलसमेत गरेको छ ।