मेचीनगर । विद्यालयको बस खरिदका लागि पूर्व विद्यार्थी माझ अभियान चलाईने भएको छ ।

मेचीनगर–८, स्थित आदर्श माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले विद्यायलका लागि आवश्यक बस खरिदका लागि पूर्व विद्यार्थी पूनर्मिलन समारोह आयोजना गर्ने भएको छ ।
समाजको सोमबार सम्पन्न भेलाले विद्यालयका लागि अति आवश्यक देखिएको बस सञ्चालनका लागि पूर्व विद्यार्थीहरुको वृहत् पुनर्मिलन समारोह आयोजना गर्ने निर्णय भएको समाजका सचिव दामोदर ढुङ्गेलले बताए ।
ढुङ्गेलका अनुसार दशैंको अवसर पारेर आउँदो कात्तिक १ गते आइतबार अष्ठमीका दिन विद्यालय प्राङ्गणमा वृहत् भेला आयोजना गरिएको छ ।
पूनर्मिलन समारोहमा सहभागी हुन सबै पूर्व विद्यार्थीहरुमा समाजले आग्रह गरेको छ ।
समाजले हालै असामयिक निधन भएका अध्यक्ष शंकर भट्टराईको स्मृतिमा शोक प्रस्तावको निर्णय पारित गर्दै परिवारजनमा समवेदना प्रकट गरेको छ ।
भेलाका सहभागी हाल नेपाल सरकारका उपसचिव होमनाथ भण्डारीले विद्यालयलाई आवश्यक बस खरिद तथा सिकाई उपलब्धि सुधारमा सहयोगी बन्ने समाजको मुख्य उद्देश्य रहेको बताए ।
भेलामा विद्यालयका प्रअ कृष्ण पुरीले पूर्व विद्यार्थी समाजले सहयोग अभियान सञ्चालन गर्ने निर्णय हुनु विद्यालयका लागि गर्वको क्षण भएको बताए ।
"वहाँहरुले विद्यालयलाई कस्तो सहयोग आवश्यक छ भनेर सोध्नु भयो; प्रअ पुरीले भने, 'बस खरिद, अनाथ बालबालिकाहरुको लागि आवासीय कक्षा तथा प्रविधिमैत्री कक्षाकोठा व्यवस्थापन दीर्घकालिन सोचको रुपमा हामीले प्रस्तुत गरेका छौं ।"
एक हजार बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयमा हालसम्म बस सेवा नभएको बताउँदै समाजले पूर्व विद्यार्थीहरु तथा जनस्तरबाट सहयोग संकलन गरी बस सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको जनाएको छ ।
पूर्व विद्यार्थी समाजले विद्यालयमा यस अघि आदर्श सङ्ग्रहालय स्थापना गरेको छ ।
२०२५ सालमा स्थापना भएको विद्यालयमा २०४० सालबाट नियमितरुपमा माध्यमिक शिक्षा परीक्षा(एसइई) परीक्षामा सहभागी हुँदै आएका छन् ।
विद्यालयको प्रारम्भिक तथ्यांकका आधारमा हालसम्म करीब ३ हजारबढी पूर्व विद्यार्थीहरु रहेको बताइएको छ ।