भद्रपुर । माध्यमिक शिक्षा परीक्षा(एसइई) २०८२ मा ४ जिपिए ल्याउने झापाका ३८ विद्यालयलाई सम्मान गरिएको छ ।
शिक्षा विकास तथा समन्वय एकाई झापाले शुक्रबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट जिपीए हासिल गर्ने विद्यालयलाई सम्मान गरेको हो ।
झापाका १० सामुदायिक तथा २८ संस्थागत गरी ३८ विद्यालयका ५७ जनाले उत्कृष्ट ४ जिपीए हासिल गरेका थिए ।
झापामा गतवर्षबाट यस किसिमको कार्यक्रम आयोजना गरिएको थियो । एकाईले योवर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो ।

विद्यार्थीहरुमा प्रेरणा जगाउँदै सो वातावरण तय गर्न खेलेको भुमिकालाई कदर गर्दै कदर पत्र, दोसल्ला र प्रमाणपत्रद्वारा झापाका शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालयलाई सम्मान गरिएको झापाका एकाई प्रमुख उपसचिव कुमार बस्नेतले बताए ।
सम्मान कार्यक्रममा मेचीनगरबाट सामुदायिकतर्फ धुलावारी मावि, बालसुबोधिनी मावि तथा संस्थागततर्फ इष्ट होराइजन मावि, तारापुञ्ज मावि र दुर्गा आवासीय माविले ४ जिपीए प्राप्त गरेका थिए ।

सो अवसरमा सम्मानित हुने विद्यालयहरुको तर्फबाट माउन्ट एभरेष्ट अंग्रेजी माविका संस्थापक नारायण घिमिरे, हिमालय मावि दमकका प्रअ द्रोण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै यस किसिमका प्रेरणा जगाउँने कार्यक्रमले निरन्तरता पाउनु पर्ने धारणा राखे ।
कार्यक्रममा बिर्तामोड शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तिलचन भण्डारी, मेचीनगर शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, सहायक प्रजिअ सहदेव रायमाझी, प्रमुख अतिथि शिक्षा समिति झापाका अध्यक्ष जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले उत्कृष्ट नतिजा हासिल हुनमा शिक्षकको प्रमुख भूमिका रहने बताउँदै विद्यालय र अभिभावकको समन्वय भएमा शैक्षिक स्तर उठाउँन सकिने बताए ।
इकाई प्रमुख बस्नेतको अध्यक्षता एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यालयका शाखा अधिकृत एवम् सूचना अधिकारी किरण अधिकारी तथा सञ्चालन शाखा अधिकृत रमेश गौतमले गरेका थिए ।