धुलाबारी । रोट्रयाक्ट क्लब अफ इटाभट्टा म्युनिसिपलको आयोजनमा धुलाबारीमा "नमुना संसद" कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको प्रतिनिधि सभा अन्तर्गत संचालन हुने संघीय संसद कै ढाँचा र कार्यतालिकामा कार्यक्रम संचालन गरिएको थियो ।
कार्यक्रममा विभिन्न विद्यालय, कलेज तथा युवा सहभागीहरूले नेपालको संघीय संसदको कार्यप्रणाली, विधेयक दर्ता, प्रश्नोत्तर, छलफल तथा मतदान प्रक्रियाको यथार्थ अभ्यास गरेका थिए। सहभागीहरूले सभामुख, प्रधानमन्त्री, मन्त्री, सांसद तथा प्रतिपक्षको भूमिका निर्वाह गर्दै संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए ।

कार्यक्रमको उद्घाटन सत्रमा वक्ताहरूले युवामा नेतृत्व विकास, संवैधानिक चेतना, लोकतान्त्रिक संस्कार तथा जिम्मेवार नागरिक निर्माणका लागि यस्ता कार्यक्रम अत्यन्त प्रभावकारी हुने बताएका थिए। सहभागीहरूले नेपालको संविधान, संसदीय प्रक्रिया तथा नीति निर्माणबारे व्यावहारिक ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका थिए।
धुलाबारी माध्यमिक विद्यालयको सभाहलमा सम्पन्न शनिबार सम्पन्न कार्यक्रममा मेचीनगरका माध्यमिक तहका ७० बढी विद्यार्थी सहभागीको कार्यक्रम संयोजक पुजा संग्रौलाले जानकारी दिइन् ।
कार्यक्रममा नमुना सांसद तथा सरकार प्रमुख प्रधानमन्त्री, सभामुख, राष्ट्रपति, विभिन्न मन्त्रीको भुमिकामा विद्यार्थीहरु सहभागी भएर संसदीय अभ्यासको बारेमा आफै सहभागी भएर सांसद तथा विभिन्न मन्त्रीहरुको भुमिका निर्वाह गरेका थिए ।
लोकतान्त्रिक अभ्यासलाई व्यवहारमा उतार्दै युवाको नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमले सहभागीहरूमा संसदीय प्रणालीप्रति थप रुचि र जिम्मेवारीको भावना विकास गरेको आयोजकको विश्वास छ ।
विद्यार्थीहरुमा संसदीय अभ्यास, नीति निर्माण, विधेयक, बजेट, विभिन्न योजना निर्माण, पेश गर्ने तथा छलफल र पारित गर्ने तैरतरिका सम्बन्धमा व्यवहारिक ज्ञान प्रदान गरिएको आयोजकले बताएको छ । सोको लागि आयोजकले अघिल्लो दिन सहभागीहरुलाई प्रशिक्षण प्रदान गरेको थियो ।
कार्यक्रममा शिक्षा संवद्ध सरोकारवाला तथा सामाजिक संघ संस्थाका प्रतिनिधिसमेत सहभागी थिए ।
