काँकरभिट्टा । मेचीनगरस्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उपाधि इष्ट होराइजन अंग्रेजी मावि धुलाबारीले जितेको छ ।
सोमबार सम्पन्न फाइनलमा आदर्श मावि इटाभट्टालाई ३-० गोल अन्तरले पाखा लगाउँदै होराइजनले उपाधि हात पारेको हो ।
उपाधिसँगै इष्ट होराइजनले नगद २१ हजार, ट्रफि, मेडल, प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आदर्श माविले नगद ११ हजारमा चित्त बुझायो ।
विजेता इष्ट होराइजनका लागि नयन प्रधानले २ तथा आर्यन चौधरीले १ गोल गरे ।
फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता इष्ट होराइजनका नयन प्रधान घोषित भए ।
विजेतालाई झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले, मेचीनगर-६, का अध्यक्ष ललितबहादुर तामाङलगायतले पुरस्कृत गरेका थिए ।
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आदर्श माविका कप्तान सुमन दर्जी घोषितहुँदै नगद १ हजार पाँच सय र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीको उपाधीसमेत आदर्शका कप्तान दर्जीले जिते । उनले प्रतियोगिता भर ४ गोल गरे ।
त्यसैगरी प्रतियोगिताको उत्कृष्ट गोलकिपर इष्ट होराइजनका पृन्स थाम्सुहाङ्, उत्कृष्ट डिफेन्डर आदर्श माविका उज्ज्वल कटुवाल, उत्कृष्ट मिड फिल्डर इष्ट होराइजनका आविष्कार लिम्बु, उत्कृष्ट फर्वार्ड इष्ट होराइजनका आर्यन राजवंशी घोषित भए । उनीहरुले नगद ११ सय र प्रमाणपत्र प्राप्त गरे ।
पुस २२ देखि २९ सम्म आयोजित प्रतियोगितामा नगरका १२ विद्यालय सहभागी थिए ।