झापा । निता भेटवाल स्मृति निबन्ध लेखन प्रतियोगिता क्षेत्रीयस्तरमा सुरु भएको छ । शनिबार झापाका ५ वटै क्षेत्रमा क्षेत्रीयरुपमा प्रतियोगिता सम्पन्न भएको हो ।
जसअन्तर्गत क्षेत्र नं १ मा रहेका सामुदायिक विद्यालयका विद्यार्थीहरु बीचमा शनिबार प्रतियोगिता सम्पन्न भएको छ ।
क्षेत्रीय संयोजक लम्बोदर पौडेलका अनुसार क्षेत्र नं १ मा रहेका १७ सामुदायिक विद्यालय मध्ये १५ विद्यालय सहभागी भएका थिए । कार्यक्रममा काँकरभिट्टा मावि र सरस्वती मावि सहभागी भएनन् ।

प्रतिष्ठानले तोकेको मापदण्ड अनुसार प्रत्येक क्षेत्रबाट उत्कृष्ट ३ प्रतियोगी जिल्लास्तरमा हुने फाइनल प्रतिस्पर्धामा सहभागी हुने छन् । जसमा जिल्लास्तरीय प्रतियोगितामा पहिलो हुनेले नगद ७० हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार तथा ३० हजार पाउने छन् ।
१५ प्रतिस्पर्धी मध्ये अन्य १२ प्रतियोगीले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने आयोजकले बताएको छ ।
मेचीनगर ८, स्थित आदर्श माविको पुस्तकालय भवनमा आयोजित प्रतियोगितामा नगर शिक्षा शाखा प्रमुख होमनाथ भन्डारी, प्रअहरु कृष्ण पुरी, नारायण न्यौपाने, प्रतिष्ठानका पदाधिकारी उपस्थित थिए ।

विद्यार्थीहरुले लेखेको निबन्ध पुस्तिका कोडिङ गरी जिल्लास्तरमा परीक्षण हुने र नतिजा शीघ्र प्रकाशन गर्ने आयोजकको तयारी छ ।
प्रतिष्ठानका सदस्य मेची बहुमुखी क्याम्पस भद्रपुरका उपप्राध्यापक डा. ठाकुरप्रसाद पोख्रेलले स्वागत तथा प्रतिष्ठान बारे जानकारी गराएको कार्यक्रमको सहजीकरण क्षेत्रीय संयोजक पौडेलले गरेका थिए ।
निता भेटवाल स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगिताको फाइनल जेठ १६ गते शनिबार बिर्तामोडस्थित कोहेड कलेजमा सम्पन्न हुनेछ।
विद्यालयतहका विद्यार्थी माझ आयोजित निबन्ध लेखन प्रतियोगिताको पुरस्कार राशी संभवत: जिल्लामै सर्वाधिक रहेको बताइएको छ ।
