काँकरभिट्टा । तेस्रो मेचीनगरस्तरीय अन्तर मावि फुटबल प्रतियोगिताको उपाधिका लागि आदर्श मावि र इष्ट होराइजन अंग्रेजी माविबीच प्रतिस्पर्धा हुने भएको छ ।
शनिबार सम्पन्न सेमिफाइनलका दुई खेलमा जित हासिल गर्दै आदर्श र होराइजन फाइनल प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनलमा आदर्शले सुर्योदय अंग्रेजी माविलाई ३-२ गोल अन्तरले पाखा लगाउँदै फाइनलमा स्थान सुरक्षीत गरेको हो ।
आदर्श माविका लागि कृसल राउत(९औं), पन्चम राजवंशी(२९औं) र समीर हस्दाले दोस्रो हाफको ८ औं मिनेटमा गोल गरे ।
सुर्योदयका लागि दोस्रो हाफको १२ औं मिनेटमा आयुष बस्नेत र १७ औं मिनेटमा सुमित घिमिरेले गोल गरे ।
खेलको उत्कृष्ट खेलाडी आदर्शका उज्ज्वल कटुवाल घोषित हुँदै नगद ५ सय र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै शनिबारै सम्पन्न दोस्रो सेमिफाइनलमा इष्ट होराइजन अंग्रेजी माविले नर्थपोइन्ट अंग्रेजी माविलाई ३-० गोल अन्तरले पराजित गर्दै फाइनलमा आदर्श माविसँगको भेट पक्का गरेको छ ।
होराइजनका लागि निशान्त चौधारीले पहिलो हाफको १० औं र दोस्रो हाफको २० औं मिनेटमा तथा २९ औं मिनेटमा विकल्प प्रसाईँले टिमका लागि तेस्रो गोल गरे ।
दुई गोल गरेका निशान्त चौधरी खेलको उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ सय र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगिताको विजेताले नगद २० हजार, ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता बन्ने टिमले १० हजार ट्रफी र मेडल प्राप्त गर्ने आयोजकका महासचिव लाक्पा तामाङ्ले जानकारी दिए ।
प्रतियोगितामा नगरका १२ विद्यालय सहभागी थिए ।