काँकरभिट्टा । एमिटी पब्लिक स्कुल काँकरभिट्टाले अन्तर मावि भलिबल प्रतियोगिता आयोजना गरेको छ ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा आयोजक एमिटी पब्लिक स्कुलसँगै ३ सामुदायिक विद्यालय सहभागी छन् ।
प्रतियोगिता लिग चरणमा संचालन गरिएकाले समय अभावमा धेरै प्रतिस्पर्धी विद्यालय सहभागी गराउन नसकिएको विद्यालयका प्रिन्सिपल सुवर्ण भट्टराईले बताए ।

प्रतियोगितामा आयोजक विद्यालयसँगै आदर्श मावि इटाभट्टा, बाल कल्याण मावि अधेँरी र सरस्वती मावि बाहुण्डाँगी सहभागी छन् ।
पहिलो दिन भएका समुह चरणका खेलहरुमा आदर्श माविले २ म्याच जितेको छ भने अन्य तीन विद्यालयले १/१ म्याचमा जित हासिल गरेका छन् ।
आइतबार समूह चरणको अन्तिम खेलसँगै अंक तालिकाको आधारमा उत्कृष्ट २ टिमले आइतबार उपाधिका लागि भिड्ने आयोजकले बताएको छ ।

शनिबार मेचीनगर-६, काँकरभिट्टास्थित विद्यालयको खेल मैदानमा आयोजित उद्घाटन समारोहमा एमिटी स्काउट दलले मार्चपासलगायतका प्रस्तुतिले अतिथि तथा सहभागीहरुलाई स्वागत सम्मान गरेको थियो ।

सोअवसरमा बालकल्याण माविका प्रअ नारायण न्यौपाने, जीआर धिताललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालयका प्रिन्सिपल भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रको संचालन विद्यालयकी इन्चार्ज सीता अधिकारीले गरेकी थिइन् ।