काँकरभिट्टा । काँकरभिट्टास्थित खेल मैदानको जग्गा विवाद समाधान गरिने मेचीनगर गोल्डकप मुल आयोजक कमिटी संयोजक श्रीप्रसाद मैनालीले बताएका छन् ।
मंगलबार ‘मेचीनगर गोल्डकप २०८१’ को हिसाब सार्वजनकीकरण कार्यक्रमको अवसरमा बोल्दै संयोजक मैनालीले सबैको चासो र चिन्ताको विषय बनेको जग्गा विवाद समाधान गरेरै छाड्ने उद्घोष गरे ।
हाल खेलकुद प्रतियोगिता संचालन भइ रहेको मैदानलाई काँकरभिट्टा माविले विद्यालयको आफ्नो मैदान भनी दाबी गरिरहेको छ भने अन्य व्यक्तिहरुले खेल मैदानलाई सबैको साझा मैदानको रुपमा स्थापित गर्दै काँकरभिट्टा खेल मैदानको रुपमा अघि बढाउने पर्ने माग गर्दै आईरहेका छन् ।
मैदानलाई रंगशालाको रुपमा स्तरोन्नति गर्न केन्द्र सरकार खेलकुद मन्त्रालयमार्फत ३ करोड बजेट बिनियोजन भएको छ । मैदानको विवादकै बीच बजेट विनियोजन भएपछि रंगशाला निर्माणमा चिन्ता र चासो सार्वजनिकरुपमा हुने गरेको छ ।
सो अवसरमा हिसाब सार्वजनिक गर्दै गोल्डकप सह-संयोजक एवम् आर्थिक समिति संयोजक विमल आचार्यले सदस्यता शुल्क कटाएर हेर्दा गोल्डकपमा घाटा व्यहोर्नु परेको बताए ।
संयोजक आचार्यका अनुसार गोल्डकपमा सदस्यबाहेक अन्य तर्फबाट कुल ७३ लाख ५८ हजार २०१ रुपैयाँ संकलन भएको बताए । जसमा खर्च ९० लाख ६७ हजार ७८६ रुपैयाँ भएको देखाइएको छ ।
हालसम्म ३२७ जनाले सदस्यता लिएको र सदस्यता शुल्कबापत ३२ लाख ७० हजार संकलन भएको छ ।
सो रकमसहित गर्दा १५ लाख ६० हजार ४१५ रुपैयाँ बचत रकम रहेको जानकारी गराईयो ।
गोल्डकपमा यसअघि प्रतिवद्धता जनाएका मध्येबाट ६ लाख १ हजार तथा प्रदेश सरकारमार्फत ३ लाख निकासाको क्रममा रहेको जानकारी दिएको थियो ।
सबै रकम प्राप्त भइसक्दा कुल २४ लाख ६१ हजार ४१५ रुपैयाँ बचत हुने अनुमान आयोजकको छ ।
यद्यपि आजिवन सदस्यता शुल्कबापत उठेको ३२ लाख ७० हजार रकम बैंक बचत गर्न आयोजक असमर्थ रहने देखिएको छ ।
हिसाब सार्वजनिक कार्यक्रममा आयोजक कमिटीको तर्फबाट बोल्दै काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर अध्यक्ष नवराज ओली, गोल्डकप कोषाध्यक्ष गंगालाल गुरुङ एवम् सदस्य शुभद्रा भट्टराई अर्यालले सबै दाताहरुप्रति धन्यवाद ज्ञापन गर्दै गोल्डकपको निरन्तरताको सन्दर्भ उठाएका थिए ।
आयोजक पदाधिकारीहरुले छोटो समयमा सम्पन्न भएको पाँचौं संस्करणबाट आफुहरु उत्साहित बनेको बताउँदै भविष्यमा गोल्डकपलाई संस्थागतरुपमा स्थापित गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । कार्यक्रमको सहजीकरण गोल्डकप आयोजक कमिटी सचिव राजु कार्कीले गरेका थिए ।
हेर्नुहोस् हिसाब :





