मेचीनगर । शनिबारबाट सुरुहुने मेचीनगर गोल्डकप सञ्चालनका लागि संस्थापक सदस्यहरु बाटै ३० लाख रकम संकलन भएको छ ।
गोल्डकपको पूर्वसन्ध्यामा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गोल्डकप संयोजक श्रीप्रसाद मैनालीले ३ सय जनाले गोल्डकपको संस्थापक सदस्यता लिएको जानकारी दिए ।
सबैको साझा सहभागीताले गोल्डकपको अपनत्व सबैमाझ पुगेको मैनालीले बताए ।
गोल्डकप सञ्चालनका लागि सबैबाट स्वतःस्फूर्त सहयोग प्राप्त भएको आर्थिक समिति संयोजक बिमल आचार्यले बताए । ‘हामीले कसैलाई सहयोगका लागि ढिपी गर्नु परेन, पूर्व मेयर आचार्यले भने, ‘सहयोग गर्ने हातहरु धेरै भएर हामीले संस्थापक सदस्यतानै स्थगन गर्नु प¥यो ।’
टिम सहभागीता र स्थानीयको उत्साहजनक सहयोगका कारण झापाका अन्य गोल्डकपभन्दा मेचीनगर गोल्डकप ठुलो गोल्डकपको रुपमा अघि बढी रहेको पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका संस्थापक अध्यक्ष मिन बस्नेतले दाबी गरे ।
एडिभिजनका टिमसहित दुई अन्तराष्ट्रिय टिमको सहभागीताले गोल्डकपको स्तर कायम भएको झापा जिल्ला फुटबल संघ अध्यक्ष भगिरथ आले'मामा' ले बताए ।
प्रतियोगितामा चर्च बोइज युनाइटेड, मछिन्द्र एफसी, एपीएफ काठमाण्डौं गरी ए डिभिजनका ३, नेपाल सुपर लिग खेलेको झापा एफसी, धरान फुटबल क्लब सुनसरी तथा उज्वेकिस्तान र भारतका २ बिदेशी एवम् आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर गरी ८ टिम सहभागी छन् ।
प्रतियोगिताको विजेताले १० लाख, उपविजेताले ५ लाख तथा ट्रफि प्राप्त गर्नेछन् । गोल्डकपको उत्कृष्ट खेलाडीलाई ५१ हजार, सर्वाधिक गोलकर्तालाई २५ हजार, उत्कृष्ट गोलरक्षक र कोचले २१/२१ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै उदयीमान खेलाडीले नगद १५ हजार, प्रत्येक खेलको उत्कृष्ट खेलाडीले ११ हजार पाउने छन् । त्यसैगरी फाइनल खेलमा टिकट खरिद गरेका दर्शकका लागि लक्किड्रमार्फत २१ हजार पुस्कार प्राप्त गर्नेछन् ।
गोल्डकपको टिकट दर १ सय कायम गरिएको छ । उद्घाटन खेलमा अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिलाका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
गोल्डकपको संरक्षकमा मेचीनगर नगरपालिका रहेको छ भने प्राविधिक सहयोग झापा जिल्ला फुटबल संघ र मेचीनगर खेलकुद विकास समिति रहेको छ । होटल मेची क्राउन मुख्य प्रायोजक रहेको प्रतियोगिताको सह–प्रायोजकमा मेची नेत्रालय आँखा अस्पताल रहेको छ ।
