बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।
कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगितामा ब्रदर्स युनाइटेड चन्द्रगढीलाई २–० गोल अन्तरले पराजित गर्दै बाहुनडाँगी युवा क्लब उपाधि नजिक पुगेको हो ।
विजयी भएको बाहुनडाँगीले कम्तिमा ५१ हजार सुरक्षित गरेको छ भने पराजित हुँदै ब्रदर्स युनाइटेड चन्द्रगढी उपाधि होडबाट बाहिरिएको छ ।
बाहुण्डाँगीका लागि दुवै गोल अभिषेक गुरुङले गरेका थिए । अभिषेकले खेलको २३ औँ मिनेटमा फस्ट बार च्याप्दै हानेको प्रहारले जाली चुमेको थियो । त्यसैगरी, ४६ औँ मिनेटमा अभिषेकलेनै दोस्रो गोल गरे ।
निशान प्रधानको पासलाई सदुपयोग गर्दै अभिषेकले व्यक्तिगत दुई गोल गरेका थिए । घरेलु मैदानमा दर्शकको पूर्ण साथ पाएको बाहुनडाँगीका खेलाडीले तुलनात्मक रुपमा केही राम्रा मुभ बनाएका थिए ।
खेलको म्यान अफ दी म्याच अभिषेक गुरुङ घोषित भए । उनलाई नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी मेचीनगर–२ का वडाध्यक्ष दीपक बराल र साना किसान सहकारी संस्था बाहुण्डाँगीका मुख्य प्रबन्धक पोषककुमार मोतेले वितरण गरे ।
बाहुण्डाँगी जेसीजको आयोजनामा जारी प्रतियोगिता चैत २२ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका छन् । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बाहुण्डाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ ।
मंगलबारको दोस्रो सेमिफाइनल खेल रोलिङ फुटबल क्लब धुलाबारी र काँकरभिट्टा फुटबल टे«निङ सेन्टरबीच हुने आयोजकले जनाएको छ ।