'समाजमा हुने राम्रा र नराम्रा दुबै खाले गतिविधिले प्रभावित हुन्छ मन,
चेतनाको धनले मन भित्रको उकुसमुकुसलाई जब प्रहार गर्छ अनि बन्दो रहेछ कबिता'
यी हरफ बोल्दै सुरु हुन्छ कवि कल्पना ओली सिटौलाको कृति 'जुरुक्क उठ्छ सडक'।
आफ्नो कबिताहरुमा उनी आफ्नो बुवा किसान आन्दोलनका योद्धा श्रीनारायण ओलीलाई यसरी सम्झन्छिन्....
'इतिहासले बिर्सिएर के भो त
योद्धा श्रीनारायण !
झापाको माटाले बिर्सेको छैन तिम्रो योगदान
चुरेले नियालीरहेको छ तिम्रो साहस ।'
काँकरभिट्टा । साहित्यकार कल्पना ओली सिटौलाको कविता कृति 'जुरुक्क उठ्छ सडक' पाठक माझ आएको छ ।
शनिबार काँकरभिट्टामा आयोजित एक कार्यक्रमका बीच संग्रह विमोचन गरिएको हो ।
प्रमुख अतिथि वरिष्ठ साहित्यकार मिश्र वैजयन्तीलगायतका साहित्यकारहरुले कृतिको विमोचन गरे ।
सो अवसरमा बोल्दै समिक्षक दामोदर ढुङ्गेलले ४९ कबिता र २३ गजलसहितको लघुतम कबिता संग्रहित कृति गहकिलो रहेको बताए । भूगोलको सिमानाको चोट सिमानामा बस्नेलाई थाहाहुने भन्दै समिक्षक ढुङ्गेलले विस्तारवादी छिमेकीले गरेको हेपाई र मातृभुमीको रक्षार्थ आवाज ओलीको कृतिमा व्यक्त भएको बताए ।
कृतिकार ओलीको परिचय प्रस्तुत गर्दै सुसेली साहित्यिक परिवारका सहसचिव मदन अधिकारीले साहित्यले समाजको चित्रण मात्र होइन समस्या समाधानको उपाय सुझाउनु पर्छ भन्ने विचार राख्ने ओलीको कलम कबिता विधामा सलल बगेको बताए ।
कार्यक्रममा साहित्यकार केशव आचार्य, भवानी क्षेत्री, हरी न्यौपाने, टीका भट्टराई नेपाल, जय भण्डारी, लक्ष्मी अच्युत ढुङ्गाना, मीना अधिकारी, पवन ढुङ्गेल, पुन्य खरेल, नमुना निरौला, गिता सुवेदीलगायतले साहित्यिक रचना वाचन गर्दै कवि ओलीको कृतिको प्रशंसा गरेका थिए ।
कार्यक्रममा साहित्यकार कमल गुरागाईँ, मुनाराज शेर्मा, अग्रज पत्रकार चन्द्र भण्डारी, राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओली थापा, लिला उदासी, प्रमुख अतिथिलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सुसेली साहित्यिक परिवारका अध्यक्ष पुण्यप्रसाद खरेलको सभापतित्व रहेको कार्यक्रममा स्वागत उपाध्यक्ष केन्द्रप्रसाद भट्टराई तथा संचालन सचिव कनक कार्कीले गरेका थिए ।
मेचीनगर-६, स्थित देवकोटा पार्क परिसरमा आयोजित कृति विमोचन समारोहमा वरिष्ठ साहित्यनुरागी व्यक्ति-व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
चार दशक लामो साहित्यिक यात्रामा लागेकी ओलीको यो पहिलो प्रकाशित कृति रहेको छ ।
कृतिमा वरिष्ठ साहित्यकार विजय खरेल, चुडामणी रेग्मी, मिश्र वैजयन्ती, पुण्यप्रसाद खरेलले शुभकामना लेखेका छन् ।