काँकरभिट्टा । भानु जयन्तीको अवसरमा आयोजित कविता प्रतियोगितामा दिपेश राउत प्रथम भएका छन् ।
शुक्रबार काँकरभिट्टास्थित भानु साहित्यक प्रतिष्ठानको सभाहलमा सम्पन्न मेचीनगर अन्तर मा.वि./क्याम्पस कविता प्रतियोगितामा आदर्श मावि इटाभट्टाका राउत प्रथम भएका हुन् ।
प्रतियोगितामा सरस्वती मावि बाहुण्डाँगीका शिक्षा बस्नेत द्वित्तीय, काँकरभिट्टा बहुमुखी क्याम्पसका दुर्गा भण्डारी तृतीय तथा धुलाबारी माविकी संरचना अधिकारीले सान्त्वना स्थान हासिल गरे ।
विजेतालाई आइतबार भानुभक्तको जन्मजयन्तीका दिन काँकरभिट्टामा हुने समापन समारोहका बीच पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्तीको अवसरमा भानु साहित्यिक प्रतिष्ठान काँकरभिट्टाले आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तथा साहित्यनुरागी व्यक्ति, व्यक्तित्वको सहभागिता रहेको थियो ।
कविता प्रतियोगिताको निर्णायकमा प्रा.डा.गङ्गाप्रसाद अधिकारी तथा सहप्राध्यापक लीलाप्रसाद अधिकारी रहेका थिए ।
सो अवसरमा अन्य कविहरु रोशनी यादव, सीमा दर्जी, साहेलअलि शेख, श्रेया सिवाकोटी, अशोक आङ्देम्बे, सोभियत श्रेष्ठ, माया चौहान, अनुजा घिमिरे, मोनालिसा थापा, सञ्चिता नेपाली, रुसिका भट्टराईलगायतले कविता वाचन गरी प्रतियोगी बनेको वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेलले जानकारी दिए ।
कार्यक्रममा प्रा.डा. अधिकारी, प्रतिष्ठानका महासचिव लक्ष्मीप्रसाद उप्रेती, प्रा.डा. अधिकारी, प्रमुख अतिथि खरेललगायतले आदिकविप्रति श्रद्धाञ्जली तथा कविगोष्ठीमा सहभागीहरुलाई बधाई मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिष्ठानका सदस्य जमुना ढुङ्गानाले स्वागत तथा सचिव जयप्रसाद आचार्यले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता प्रतिष्ठान अध्यक्ष घिमिरेले गरेका थिए ।