सालघारी । मेचीनगर-८, सालघारीमा हालै निर्माण सम्पन्न भएको मन्दिरको भित्तामा कलाकार केसाङ लामाले निशु:ल्क चित्र निर्माण गरेका छन् ।
करिब डेढ महिना लगाएर तयार पारेको चित्रहरु शनिबार एक कार्यक्रमका बीच मन्दिरलाई हस्तान्तरण गरिएको छ ।
मन्दिरको भित्तामा ४० दिनबढी हाते कुची घोटेका केसाङले बडेमानका विभिन्न ७ वटा चित्रहरु कोरेका छन् ।
पर्खालमा महादेव, हनुमान, राधाकृष्ण, हलो जोतिरहेको किसान र ४० वर्षअघिको सालघारी जस्ताको तस्तै उतारिएको छ ।
कलासँग रमाउने केसाङ सार्वजनिक स्थानहरुमा यसरी नै रङ भर्दै हिँडिरहेका छन् ।
लामो समय राजधानीमा बिताएका लामा केही वर्ष यता आफ्नै नगरका कुना कन्दरामा प्रतिभा उमार्दै हिँडिरहेको छन् ।
सोअवसरमा कार्यक्रमका प्रमुख अतिथि अग्रज पत्रकार चन्द्र भण्डारीले निस्वार्थ भावले कला पस्किरहेको बहुप्रतिभाशाली कलाकार केसाङ लामालाई समाजले चिन्न नसकेको धारणा राखे ।
समाजमा सत्कर्म गरेर अघि बढ्न खोज्ने व्यक्तिलाई अनेक लाञ्छना लगाएर गिराउने र खुट्टा तान्ने प्रवृत्ति पछिल्लो समय मौलाउँदै गएको बताउँदै उनले कोही व्यक्ति अघि देखिए सबैको ध्यान गिराउनेतर्फ जाने गरेको पाइएको बताए ।
आधुनिकताको नाममा आफ्नो संस्कृति नै लोप हुन लागेको अवस्थामा लोक संस्कृति र नेपाली पहिचान बोकेर हिँड्ने कलाकारहरुलाई समाजले उच्च स्थान दिनुपर्ने भण्डारीले बताए । भण्डारीले मन्दिरको दिगो व्यवस्थापनका लागि अक्षयकोष निर्माण गरेर अघि बढ्नसमेत मन्दिर संरक्षण समितिलाई सुझाव दिए ।
फरक प्रसंगमा भण्डारीले विषाक्त बनिरहेको हाम्रो दैनिकीलाई फर्केर हेर्न र त्यसबाट बच्न विषादी न्यूनीकरणमा लाग्न सजगसमेत गराए । उनले कार्यक्रममा प्रयोग हुने माला र खदालाई लामो समय टिकाउन फर्मालिन प्रयोग गरी विषाक्त बनाउने गरिएको बताउँदै आफ्नै स्वदेशी र स्थानीय स्रोत साधनको प्रयोग बढाउन सुझाए ।
कार्यक्रममा बोल्दै साहित्यकार पर्शुराम तिम्सिना, प्राज्ञ सुभद्रा भट्टराई, जनप्रतिनिधि कुन्दन निरौला, मेचीनगर-५ का अध्यक्ष कनकबहादुर कार्कीलगायतले कलाकार लामाको सामाजिक जीवनको चर्चा गर्दै उनको प्रतिभाको प्रशंसा गरे ।
सोही अवसरमा कलाकार लामालाई प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।
नवदुर्गा तथा शिवालय मन्दिर संरक्षण समिति अध्यक्ष तीर्थ सुनुवारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्दिर निर्माण समिति सचिव विकास भट्टराई तथा संचालन निर्माण समिति अध्यक्ष कृष्ण सुवेदीले गरेका थिए ।
तस्बिरहरु:



