श्लोक
आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने।।
शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।
अर्थ :
आयु द्रोण सुते–द्रोण पुत्र अश्वत्थामाको जस्तो दीर्घ आयु होस् ।
६४ कलाका जानकार अश्वत्थामा अष्ट चिरञ्जीवीमध्येका एक हुन् । उनको जस्तै आयु होस् भन्ने प्रतिकात्मक अर्थले सार्थक र चिर आयुको कामना यो पहिलो श्लोकमा गरिएको छ ।
श्रेयं दशरथे–दशरथ राजाको जस्तो मान–सम्मान फैलिइ रहोस् ।
दशरथ राजा अयोध्याका एक सूर्यवंशी राजा एवं भगवान श्रीरामका पिता थिए । आफ्नो यश र कीर्तिका कारण पूरा पृथ्वीमा चर्चित रहेकोले उनको श्रेयलाई आदर्शको रुपमा मान्ने गरिन्छ ।
शत्रु क्षेयं राधवे – शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस् ।
ऐश्वर्यं नहुषे – नहुष राजाको जस्तो ऐश्वर्य बनिरहोस् ।
नहुष पृथ्वी र स्वर्ग दुवैको एकैचोटि भोग गर्ने अवसर पाएका राजा हुन् । पौराणिक कहानी अनुसार भगवान् विष्णुको नाभिकमलबाट ब्रह्मा उत्पन्न भए । ब्रह्माजीबाट अत्रि, अत्रिबाट चन्द्रमा, चन्द्रमाबाट बुध र बुधबाट पुरूरवाको जन्म भयो । पुरूरवाबाट आयु, आयुबाट राजा नहुषको जन्म भएको थियो । पृथ्वीको भोग गरिरहेका नहुष वृत्तासुरको वधका कारण इन्द्रले ब्रह्महत्याको दोष हटाउन कैलाशमा तपस्या गर्न गएको बेलामा स्वर्गको समेत राजा भएका थिए ।
गतिश्च पवने – हावाको जस्तो तीब्र गति होस् ।
मानं च दुर्योधने – दुर्योधनको जस्तो मान प्रतिष्ठा होस् ।
दुर्योधन महाभारतका एक अभिमानी पात्र हुन् ।
शौर्यं शान्त नभे – आकाश जस्तो शान्त र पराक्रमी होस् ।
बलं हलधरे – बलरामको जस्तो बल होस् ।
बलभद्र या बलराम श्री कृष्णका सौतेनी दाइ थिए । जो रोहिणीको गर्भबाट उत्पन्न भएका थिए । बलराम, हलधर, हलायुध, संकर्षण आदि अनेक नामले यिनलाई चिन्न सकिन्छ ।
सत्यं च कुन्तीसुते – कुन्ती पुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस् ।
युधिस्ठिर महाभारतका एक प्रमुख पात्र हुन् । उनी पाण्डुपुत्र अर्थात पाँच पाण्डवका जेठा भाइ पनि हुन् । उनी कुन्तीका पुत्र कुन्तेय पनि भनेर चिनिन्छन् । उनलाई सत्य, निस्ठा तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ ।
विज्ञानं विदुरे – विदुरको जस्तो विज्ञान होस् ।
विदुर कौरव र पाण्डवका काका र धृतराष्ट्र एवं पाण्डुका भाइ थिए । तिनको जन्म एक दासीको गर्भदेखि भएको थियो । विदुरलाई धर्मराजको अवतार पनि मानिन्छ ।
कृतिश्च नारायणे– नारायणको जस्तो कृति होस् ।
भगवान नारायणको अवतारै अवतारका कारण उनी भगवानहरुमध्ये पनि कीर्तिमय भगवान मानिन्छन् ।
महिलाहरुलाई आशीर्वाद दिने क्रममा विशेषगरी यस्तो श्लोक भन्ने गरिन्छ ।
श्लोक
जयन्ति मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोकस्तुते ।।
अर्थ
जयन्ति, मङ्गला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा, स्वधा, नामले प्रसिद्ध तिमीलाई नमस्कार छ ।