काँकरभिट्टा । केही महिनाअघि काँकरभिट्टामा सम्पन्न 'कला–साहित्य उत्सव'लाई स्थानीय सरकारले हेलाहोचो गरेको आयोजकले बताएको छ ।
शनिबार काँकरभिट्टामा आयोजक रिडर्स झापाले आयव्यय सार्वजनिक गर्ने क्रममा कार्यक्रमको दौरान आएका आरोहावरोह बारे जानकारी गराएको हो ।
नेपालमै पहिलोपटक ‘थिम’मा आधारित कला–साहित्य उत्सव आयोजना गरेको दावी गर्दै आयोजकले अभिभावकको रुपमा सम्झिएको स्थानीय सरकारबाट अपेक्षाकृत सहयोग प्राप्त गर्न नसकेको दुखेसो गरेको छ।
‘नेपाल, भारतहुँदै तेस्रो मूलकसम्मका विद्वत् सहभागी बन्ने कार्यक्रममा सहयोग प्रस्ताव लिएर हामी मेचीनगर प्रमुखको कार्यकक्षमा पुगेका थियौं, कार्यक्रम संयोजक सागर शिवाकोटीले भने,‘तपाईंहरु पुरानो रिडर्स कि नयाँ! हेलाहोचो गर्दै मेयरले सोध्नुभयो, हामीलाई उपेक्षा गरेको अनुभूति भयो, हामी सरासर फर्कियौं ।’
आर्थिक सहयोगभन्दा स्थानीय सरकारसँगको अभिभावकीय उपस्थितिको अपेक्षा आफुहरुले गरेपनि सोका लागि मेचीनगर तयार नरहेको रिडर्स झापाका अध्यक्ष शैलेस दाहालले बताए ।
सबै ‘डकुमेन्टेशन’ र उत्सवको सम्पूर्ण प्राविधिक तयारी रिडर्स झापाले गरेर ब्यानर मात्र नगरपालिकाको रहने गरिको प्रस्तावमा समेत नगरपालिकाले बेवास्ता गर्नुले स्थानीय सरकारको समझ झल्किएको रिडर्स झापाका पूर्व अध्यक्ष एवम् अध्येता उज्ज्वल प्रसाईंले बताए ।
सो अवसरमा आयोजक रिडर्सका पदाधिकारीहरुले उत्सवमा ६० बढी विज्ञहरुले विभिन्न विषयमा सम्भाषण र अन्तरक्रिया गरेको बताए । जसमा ४५ जना नेपालबाट र १५ बढी अन्य मुलुकबाट आएका रैथाने ज्ञातादेखि विषयविज्ञहरुले आफ्नो विज्ञता प्रस्तुत गरेको आयोजकले बताएको छ ।
गत वर्षको फागुन १४, १५ र १६ गरी तीन दिन चलेको उत्सवमा ६८ हजार ४ सय रुपैयाँ घाटा भएको आयोजकले हिसाब सार्वजनिक गरेको छ ।
जसमा कुल १३ लाख ९७ हजार ३ सय खर्चहुँदा १३ लाख २८ हजार ९ सय आम्दानी भएको देखाइएको छ । यसरी हेर्दा आम्दानीभन्दा खर्च ६८ हजार ४ सय बढी देखिएको छ ।
अपुग रकम दाताबाट प्राप्त हुने आयोजकले जानकारी दिएको छ । जसमा नगरपालिकाको तर्फबाट एक लाख रकम निकिसाको प्रक्रियामा रहेको सूचना आफुहरुले पाएको आयोजकले बताएको छ ।
उत्सवको पाँचौं संस्करण काँकरभिट्टामा रिडर्स झापाले देही आर्ट, परिवर्तन थिएटर, मेची चरा तथा वन्यजन्तु संरक्षण समाजलगायतका सहयोगीहरुको सहकार्यमा पूर्वकै ठुलो बौद्धिक तथा कलात्मक मेलाको रुपमा आयोजना गरेको थियो ।
कार्यक्रमको चुनौती र निरन्तरताबारे सञ्चारकर्मीहरुको प्रश्नमा २ वर्षपछि यसैको निरन्तरतास्वरुप अर्को कार्यक्रम आयोजना हुन सक्ने विश्वास आफुहरुले लिएको आयोजकका पदाधिकारीहरुले प्रतिक्रिया दिए ।
हिसाब सार्वजनिक कार्यक्रममा रिडर्स झापाका अध्यक्ष दाहाल, कार्यक्रम संयोजक शिवाकोटी, पूर्व अध्यक्ष प्रसाईं, सदस्यहरु हरि तिम्सिना, दामोदर ढुङ्गेल, मणिकुमार लिम्बु, कृष्ण सिंजालीलगायत उपस्थित थिए ।