इटाभट्टा । मेचीनगर-८, स्थित आदर्श माध्यमिक विद्यालयमा सङ्ग्रहालय निर्माण हुने भएको छ ।

सङ्ग्रहालयमा प्राचीन महत्वका दुर्लभ, मौलिक तथा घरायसी सामग्री समेटिने विद्यालयका पूर्व विद्यार्थी समाजका अध्यक्ष शंकर भट्टराईले जानकारी दिए ।
समाजको हालै सम्पन्न भेलाले विद्यालय भवनको एक कोठा लाई सङ्ग्रहालयको रुपमा विकसित गर्ने निर्णय गरेको अध्यक्ष भट्टराईले बताए ।

सङ्ग्रहालय बनाउन सहयोग संकलनको सुरुवात अध्यक्ष स्वयम् भट्टराईले गरेका छन् । जसका लागि भट्टराईले ५१ हजार राशीको चेक विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीलाई हस्तान्तरण गरेका छन् ।
विद्यार्थीहरुमा सैद्धान्तिक ज्ञानसँगै हाम्रा नेपाली समाज, मौलिकता र संस्कृतिको ज्ञान प्रदान गर्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गर्ने निर्णय भएको भट्टराईले बताए ।
"पवित्र उद्देश्यका साथ हामीले यो कामको सुरुवात गर्ने सोच बनाएर अघि बढाउने निर्णय गरेका छौँ" अध्यक्ष भट्टराईले भने-"विद्यालयका सम्पूर्ण पूर्व विद्यार्थीहरुलाई सहयोग गर्न समाजको तर्फबाट हार्दिक अनुरोध गर्दछौँ ।"
भट्टराईले सहयोग रकम हस्तान्तरण गरे लगत्तै पूर्व विद्यार्थी, नेपाल सरकारका उपसचिव एवम् मेचीनगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले नगद ५/५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरिसकेका छन् ।
विद्यालयमा हाल १२ सयबढी विद्यार्थी अध्ययनरत रहेको विद्यालय प्रशासन स्रोतले बताएको छ ।
आदर्श मावि झापा लगायत अन्य जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएका अन्य विद्यालयको रोजाइमा पर्दै आएको छ ।
सोसमेतलाई मध्य नजर गर्दै शैक्षिक गुणस्तर, अतिरिक्त क्रियाकलापका गतिविधिसँगै सङ्ग्रहालय निर्माण गर्ने विद्यार्थी समाजको निर्णयबाट विद्यालय अझ प्रगति पथमा लम्कन मद्दत मिल्ने विश्वास लिइएको विद्यालयका प्रअ पुरीले बताए ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको मुल्यांकन, असल अभ्यासलगायतको सूचकमा विद्यालय समग्र देश तथा प्रदेश एवम् जिल्लास्तरमा निरन्तर उत्कृष्ट अंकका साथ पुरस्कृत हुँदै आएको छ ।