झापा । दोस्रो राष्ट्रिय आर्थिक गणना बुधबारबाट सुरु भएको छ ।
सोही अन्तर्गत झापामा समेत पहिलो दिनबाटै गणना कार्य प्रारम्भ भएको झापाका जिल्ला आर्थिक गणना अधिकारी चुडामणी लुइँटेलले जानकारी दिए ।

झापामा क र ख गरी दुईवटा गणना कार्यालय स्थापना भएका छन् ।
'क' कार्यालय अन्तर्गत बुद्धशान्ति, मेचीनगर, बिर्तामोड, भद्रपुर, कचनकवल र हल्दिबारी गरी ६ वटा पालिका रहेका छन् ।

अन्य पालिकामा दमक कार्यालय मातहतमा तथ्यांक संकलन गरिने छ ।
झापाको भद्रपुरस्थित कलवलगुरीमा आर्थिक गणना कार्यालय 'क' र दमकमा आर्थिक गणना कार्यालय 'ख' स्थापना भएका छन् ।
झापामा कुल २४ सुपरिवेक्षक तथा १८० जना गणक खटिएका छन् ।
गणक तथा सुपरिवेक्षकका लागि गत चैतमा ५ दिने अभिमुखिकरण तालिम संचालन गरिएको थियो ।

अर्थतन्त्र मापनको लागि आर्थिक गणना भन्ने नाराका साथ देशको समग्र आर्थिक अवस्थाको तथ्याङ्कीय माध्यमबाट यथार्थ अवस्था प्राप्त गर्न दोस्रो आर्थिक गणना सुरु गरिएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
तथ्यांक संकलन शुभारम्भका सम्बन्धमा बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८३ असार मसान्तसम्म दोस्रो आर्थिक गणना सम्पन्न गर्ने लक्ष्य लिइएको जानकारी गराएको छ ।
गणनामा उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र, सार्वजनिक संस्थाको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहलगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन गरिने राष्ट्रिय तथ्याङ्क कार्यालयले जानकारी दिएको छ ।

अर्थतन्त्र सुधारका लागि राज्यले लिएको नीतिलाई पूरा गर्न गणनाको महत्त्वपूर्ण भुमिका रहने बताइएको छ ।
राष्ट्रिय आर्थिक गणनामा २१ वटा वर्गीकरणमध्ये विभिन्न १८ वटा क्षेत्रको आधारभूत विवरण सङ्कलन हुने तथ्याङ्क कार्यालयले जनाएको छ ।
त्यस क्रममा देशभर दर्ता भए/नभएका ठूला साना व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार भएका प्रतिष्ठान, अन्य उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी सङ्घसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताललगायतको गणना गरिने बताइएको छ ।

सङ्कलन गरिएका विवरणहरू तथ्याङ्क ऐन अनुसार गोप्य राखिनेसमेत कार्यालयले जनाएको छ ।
यसअघि विसं २०७५ मा पहिलो पटक आर्थिक गणना गरिएको थियो । हरेक ५/५ वर्षमा गर्ने भनिए पनि यो पटक ७ वर्षपछि गणना प्रारम्भ हुँदैछ । गणना कार्य असार ७ गतेसम्म चल्नेछ ।
