जीआर धिताल
मेचीनगर । लोकप्रिय वडाध्यक्षको छवि बनाएका मेचीनगर वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले नेपाली काँग्रेसको आसन्न अधिवेशनमा नगर सभापतिमा उम्मेद्वारी दिने संकेत गरेका छन् ।
सामाजिक सञ्जालमा आफ्नो धारणा प्रस्तुत गर्दै वडा अध्यक्ष तामाङले मेचीनगर नगर सभापतिमा आफ्नो उम्मेद्वारी रहने संकेत गरेका हुन् । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा ‘नेका नगर सभापतिमा उठ्न के गर्नु पर्छ ?’ भनेर लेखेका थिए ।
वडा अध्यक्ष तामाङले पछिल्लो समय वडाबासीको सेवामा अहोरात्र खटेर चर्चा बटुलेका छन् । कोरोना कालमा संक्रमितको घरघर पुगेर औषधि/उपचारदेखि हेरचाहमा आँफुलाई समर्पित गरेका तामाङले स्थानीय स्तरमा मात्र नभर राष्ट्रिय रुपमै लोकप्रियता बटुलेका छन् ।
उनको कामको प्रशंसा गर्दै पछिल्लो समय सार्वजनिक रुपमै वडा अध्यक्ष तामाङलाई भावी नगर प्रमुखको रुपमा आफुहरुले हेर्न चाहेको अभिब्यक्ति दिनेहरु समेत थुप्रै देखिएका छन् ।
यद्यपि यसलाई आफुले इमान्दारिता र पारदर्शि सेवामार्फत आर्जन गरेको कमाईको रुपमा लिएको तामाङले प्रतिक्रिया दिएका छन् ।
नगर सभापतिमा तपाईले उम्मेद्वारी घोषणा गर्नु भएको हो भन्ने प्रश्नमा तामाङले आफुले उम्मेद्वारी घोषणा नगरेको तर, सबैले सक्षम र योग्य ठहरेको खण्डमा आफुले पार्टीको नगर समितिको नेतृत्व लिन तयार रहेको प्रतिक्रिया दिएका छन् ।
लामो समयदेखि पार्टीमा क्रियाशिल उनी पछिल्लो दुई वटा कार्यकालमा पार्टीका आमन्त्रित क्षेत्रीय सदस्य रहेका थिए ।
२०४६ सालदेखि काँग्रेस पार्टीमा आवद्ध बनेका तामाङ २०४९ सालबाट पार्टीको क्रियाशिल सदस्य रहेका छन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा तामाङले तात्कालिन नेकपा एमाले मेचीनगर नगर अध्यक्ष राजु पोख्रेललाई दुई मतले पराजित गर्दै मेचीनगर वडा नम्बर ६ को अध्यक्षमा निर्वाचित भएका थिए ।
तामाङ होटल व्यवसायी संघ मेचीनगर तथा झापा जिल्ला ब्याडमिन्टन संघका निवर्तमान अध्यक्ष, मेची उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष एवम् मेची ब्याडमिन्टन क्लबका वर्तमान अध्यक्ष हुन् । रोटरी क्लब अफ काँकरभिट्टाको पूर्व अध्यक्षसमेत रहेका तामाङले विभिन्न संघ–संस्थामार्फत समाजिक जीवन बिताइ सकेका छन् ।
वडा अध्यक्ष तामाङले मेचीनगर नगरपालिकामा दुई वर्ष अघि जनप्रतिनिधिको नाममा बेरुजु देखिए पछि पहिलो पटक बेरुजु फिर्ता गर्दै पारदर्शी जनप्रतिनिधिको रुपमा चर्चा बटुलेका थिए ।
काँग्रेसले आगामी भदौ १६ देखि १९ गतेसम्म १४ औँ महाधिवेशन गर्ने घोषणा गरेको छ । १४ औं महाधिवेशनलाई लक्षित गरी आगामी साउन १२ गतेबाट वडा अधिवेशन सुरु हुनेछ ।
गाउँ र नगरपालिका अधिवेशन भने साउन १६ गते हुनेछ । प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन २० गते हुनेछ ।
यस्तै, काँग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशनहरू साउन २३ गते गर्ने गरी कार्यतालिका बनाएको छ ।
एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरुको जिल्ला अधिवेशन साउन २६ गते हुनेछ ।
जन–संसद् दैनिकबाट