सतिघट्टा । वसन्त ऋतुको आगमनसँगै रङ्गिन बन्छन् झापाका अधिकांश गाउँ तथा सहर किनाराका सडक पेटीहरु ।
बढ्दो सहरीकरणले निम्त्याएको उराठ लाग्दो अवस्थामा शीतलता दिन यतिबेला झापाका धेरै भूभागमा फुलिरहेका छन् शिरीषका फूलहरु ।
तिनै स्थानहरु मध्ये पछिल्लो समय भाइरल बनिरहेको ठाउँ हो झापाको बुद्धशान्ति-३, स्थित बर्ने चिया बगान । जहाँ छन् राताम्य फूलहरुले ढाकिएका आधादर्जनजति शिरीषका रुखहरु ।
बर्नेसँगै यतिबेला झापाको पूर्वोत्तर नगरी मेचीनगर-७, सतिघट्टामा फुलेका शिरीषका फूलहरुले मानिसहरुको ध्यान खिचिरहेका छन् ।
काँकरभिट्टाबाट ३ किलोमिटर दक्षिणमा अवस्थित सतिघट्टा चिया बगानसँगै रहेका शिरीषका रुखहरुले मनमोहकता बढाई रहेका छन् । शिरीषका फूहरुको सुन्दरतालाई सँगै रहेका चियाका बुट्टाहरुले सघाई रहेका छन् ।
केही दिन अघिबाट सामाजिक सञ्जालमा एकाएक भाइरल बनेका दृश्यहरुले स्थानीय तथा वरपरका स्थानका घुमन्तेहरुको ध्यान खिचिरहेको छ ।
प्राकृतिक सुन्दरताले तानेर आफू सतिघट्टा बगान आइपुगेको पृष्ठभूमिमा शिरीषका फूलहरु राखेर गीतको भिडियो रेकर्ड गराइरहेका गायक विश्वास उप्रेतीले बताए ।
बर्नेभन्दा धेरै राम्रो पर्यटकीय गन्तब्यको रुपमा आफुले पाएको काँकरभिट्टाबाट घुम्न आएकी स्थानीय होटेल व्यवसायी गीता श्रेष्ठको प्रतिक्रिया थियो ।
बर्नेमा ५-६ वटा शिरीष देखेको हामीले पचासौं रुखहरु एकैसाथ फुल्दा आफुहरु दङ्ग परेको मेचीनगर कार्यपालिका सदस्य अञ्जु थापाले बताईन् । “धेरै मान्छेलाई यो थाहा छैन्, यहाँ त फरक रङका दर्जनौ रुखहरु फुलिरहेका छन् । थापाले भनिन्, कम्तिमा मेचीनगरका हरेक मानिस एकपटक आउनै पर्ने ठाउँ रहेछ यो ।”
भाइरल बनेको बगान गाउँसँगै जोडिएको छ । मानिसहरुको चहलपहल बढेपछि आफुहरु उत्साहित बनेको लिची बेच्दै गर्दा भेटिएका स्थानीय कमल खनालले बताए ।
पछिल्लो दुई दिन यता मात्र दैनिक ५-६ सयको हाराहारीमा मानिसहरु आईरहेको नजीकका स्थानीय भुवन कायस्थले जानकारी दिए ।
आफ्नो वडा भित्र शिरीषका फूलहरुले मानिसहरुको ध्यान खिच्नु गौरवको विषय भएको वडाध्यक्ष प्रह्लादमणी ओलीले बताए ।
उनले वडाको तर्फबाट ठाउँको प्रवर्द्धनमा तत्कालै लाग्ने प्रतिवद्धता जनाए । हाललाई फोहोर व्यवस्थापनमा डस्टबिनलगायतका सामग्री वडाको तर्फबाट तत्काल व्यवस्थापन गरिने अध्यक्ष ओलीले बताए ।
तस्बिरहरु :



