झापा । हालै चलेको जेन–जी आन्दोलनका कारण विद्यालयतहदेखि विश्वविद्यालयतहसम्मको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ ।
गत भदौ २३ र २४ दुई चलेको आन्दोलनका कारण विद्यालय तथा विश्वविद्यालयहरु ४ देखि ५ दिन बन्द भए । सो अवधिमा कतै परीक्षा त कतै अध्यापन कार्य चलिरहेको थियो ।
आन्दोलनका कारण राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ को पुरक परीक्षासमेत स्थगित भएको थियो । जुन परीक्षा असोज ७ र ८ गते हुँदैछ ।
त्यस्तै सोबेला स्थगित भएको त्रिविको परीक्षासमेत दशैं, तिहार पछि मात्र सञ्चालन हुने विश्व विद्यालयले सूचना प्रकाशित गरी जनाएको छ ।
आन्दोलनका कारण परीक्षा मात्र नभएर नतिजा प्रकाशनका कार्यक्रम पनि प्रभावित बनेका छन् । यो बेला त्रिविको स्नातक चौथो वर्ष, परीक्षा बोर्डको एसईई पुरक परीक्षा लगायतको नतिजा प्रकाशन गर्नु पर्ने समय थियो । तर, ती परीक्षाहरु अब केही समयका लागि सरेका छन् । नतिजा प्रकाशनको समय सर्दा माथिल्लो तहको भर्नामा पनि असर पर्नेछ । खुलेका परीक्षा फारम पनि प्रभावित भएको छ ।
त्यस्तै शिक्षक सेवा आयोगले सञ्चालन गर्ने माध्यमिक तहको शिक्षक अन्तर्वार्ताको तालिका समेत प्रभावित बनेको छ । दशैं अघि तोकिएको अन्तर्वार्ता कार्यक्रम दशैं–तिहार बीचमा तोकिएको आयोगले सूचना प्रकाशित गरी जनाएको छ ।
आन्दोलनका कारण प्रभावित भएकाले जाडो बिदामा पढाउने तयारी त्रिविको छ । यता विद्यालयहरुले भने दशैं र तिहारको बीचमा दिएका बिदा घटाएर सो अवधिमा पनि कक्षा सञ्चालन गर्ने सूचना पालिकाहरुले निकालेका छन् ।
झापाका केही पालिकाहरुले पनि दशैं तिहार बीचमा दिइएको बिदा संशोधन गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरेका छन् । आन्दोलनका कारण शैक्षिक क्यालेन्डर करीब ७ दिनप्रभावित भएको सरोकारवालाहरुको भनाई छ ।
दशैं तिहार बीचमा बिदा हुने निजी विद्यालयमा समेत दशैं–तिहार बीचमा पनि कक्षा सञ्चालन हुने निजी विद्यालय सञ्चालहरुले जनाएका छन् । अतिरिक्त गतिविधि कटौती गरेर पनि कोर्स पूरा गरिने प्याब्सन–एनप्याब्सनले जनाएका छन् ।
यो वर्ष फागुनमा पनि चुनाव तय भएकाले शैक्षिक सत्रको अन्त्य तिर पनि कक्षाहरु प्रभावित हुने देखिन्छ ।
निजी विद्यालयहरूले जेनजीको आन्दोलनका कारण परीक्षा प्रभावित भएकाले शनिबार पनि परीक्षा लिइरहेका छन् । झापा मेचीनगरका केही विद्यालयहरुले शनिबार समेत परीक्षा चलाइरहेका छन् ।
सामुदायिक विद्यालयमा पनि स्थानीय तहले प्रभावित भएको विद्यालयहरूमा आवश्यकताको आधारमा निर्णय गरेर कक्षा सञ्चालन गर्ने छन् ।
प्रभावित भएको ठाउँमा बिदाको समयमा पढाउन परिपत्र गर्ने तयारी भइरहेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।