झापा । साझा प्रकाशनले पन्ध्रौं पुस्तकालय दिवसको अवसरमा देशव्यापी पुस्तक प्रदर्शनीको तयारी गरेको छ । प्रदर्शनीमा साझाबाट प्रकाशित साहित्य, संस्कृति, इतिहास वाङ्मयसँग सम्बन्धित २ हजारभन्दा बढी शीर्षकका पुस्तक राखिने छन् ।
महाप्रबन्धक प्रह्लाद पोखरेलको अनुसार १ हजार ६ सय जति लेखकका कृति रहेका छन् । ‘पुराना प्रसिद्ध साहित्यिक कृतिहरूलाई प्रकाशन वर्षअनुसार विशेष छुटमा राखेका छौं,’ महाप्रबन्धक पोखरेलले भने, ‘देशव्यापी प्रदर्शन हुने भएकाले सकेसम्म सबैतिरका पाठक लाभान्वित हुने ठानेका छौं ।’ साझाले गत वैशाखमा पनि पुस्तक प्रदर्शनी गरेको थियो ।
साझाले पछिल्लो पटक मदन पुरस्कारप्राप्त कृति भगीराज इङनामकृत ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज’, नीलमणि ढुंगानाको ‘व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश’ लगायत प्रकाशित गरेको छ । उसले गत वर्ष उपन्यास, कविता, नियात्रा लगायत विधाका ११ वटा कृति प्रकाशित गरेको जनाएको छ ।
पुस्तक प्रदर्शनी यही भदौ १९ गतेदेखि ३१ गतेसम्म हुने विज्ञप्तिमा जनाएको छ । काठमाडौं उपत्यकामा पुल्चोकस्थित साझा प्रकाशन कार्यालय र प्रदर्शन मार्गस्थित विश्वभाषा क्याम्पसमा हुनेछ । उपत्यका बाहिर धनगढी, कैलाली, घोराही, बुटवल, पोखरा, भरतपुर, त्रिशूलीमा प्रदर्शनी हुनेछ । त्यसैगरी जनकपुरधाम, राजविराज, धरान, विराटनगर र झापाको बिर्तामोडमा समेत हुनेछ ।
ekantipur