
चन्द्रगढी । स्टिम एजुकेशन सम्बन्धी २ दिने कार्याशाला सम्पन्न भएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ झापाको संयोजनमा कार्यशाला सम्पन्न भएको हो ।
आइतबार र सोमबार गरी २ दिन चलेको कार्यशालामा झापाका विज्ञान, गणित शिक्षक, स्रोत व्यक्ति तथा सरोकारवालाहरु सहभागी थिए ।
कार्यशालालाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक निम प्रकाश सिंह राठौरले मुख्य प्रशिक्षण प्रदान गरेका थिए ।

विज्ञान र गणित विषयलाई विद्यार्थीले कठिन विषयको रुपमा हेर्ने गरेकाले त्यस्ता विषयहरुमा विद्यार्थीहरुको रुचि बढाउन र सिकाईस्तर प्रभावकारी बनाउन कार्यशालाको आयोजना गरिएको केन्द्रकी शाखा अधिकृत गिता शर्माले जानकारी दिइन् ।
कार्यशालाको दोस्रो दिन सोमबार समुहगतरुपमा शिक्षकहरुले स्टिम एजुकेशन प्लान निर्माण तथा प्रस्तुतिकरण दिएका थिए ।
साथै कार्यशालाको दोस्रो दिनको अन्तिम सेशनमा नेपालमा स्टिम एजुकेशन कार्यान्वयनका लागि विद्यालय, स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारले खेल्नुपर्ने भुमिका सम्बन्धमा लिखित सुझावसमेत संकलन गरिएको थियो ।
सोअवसरमा शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख कुमार बस्नेतले पछिल्लो समय झापाले केन्द्रसँगको सहकार्यमा विभिन्न समयमा शिक्षकलाई तालिम, गोष्ठी तथा सिकाई सहजीकरण सम्बन्धमा विविध अन्तर्कृयात्मक कार्यक्रम आयोजना गरिरहेको बताए । उनले सिकेको सिपलाई कक्षाकोठा सम्म पुर्याउन सहभागीलाई आग्रह गरे ।
केन्द्रले यसअघि पाल्पा, रुपन्देही र धादिङमा स्टिम एजुकेशन सम्बन्धमा अन्तरक्रिया सम्पन्न गरेको जनाएको छ ।

कार्यशालामा सहभागीहरुको तर्फबाट शिक्षकहरु अनन्त राजवंशी, सरिता भट्टराईलगायतले सुझाव प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विज्ञान शर्मा र संजय राजवंशीले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
केन्द्रकी शाखा अधिकृत शर्माले सहजीकरण गरेको कार्यक्रममा स्वागत समन्वय इकाई झापाका सूचना अधिकारी शाखा अधिकृत किरण अधिकारी खत्रीले गरेका थिए ।
