धुलाबारी । आसन्न प्रतिनिधि सभा निर्वाचनका उमेदवारसँग प्रत्यक्ष संवाद कार्यक्रम आयोजना गरिने भएको छ ।
धुलाबारी जेसीजको आयोजनामा झापा निर्वाचन क्षेत्र नं १ का प्रत्यक्षतर्फका उमेदवार र मतदाताबीच प्रत्यक्ष सवालजवाफ कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
संवादमा जोडिन हालसम्म ८ जना उमेदवारहरु सहमति लिइएको आयोजकले जानकारी दिएको छ ।
अन्य उमेदवारलाई समेत जोड्ने प्रयास भईरहेको आयोजक मध्येका एक धुलाबारी जेसीजका अध्यक्ष मनोज ढकालले बताए ।
जसका लागि मतदाताले आफ्नो नाम, ठेगानासहित आफ्ना जिज्ञासा लिखितरुपमा लेखेर बुझाउनु पर्नेछ । प्रश्न कर्ता क्षेत्र नं १ भित्रका मात्र हुनुपर्ने आयोजकले जनाएको छ ।
कार्यक्रमलाई विवादरहित बनाउन हल भित्र गुणात्मक उपस्थितिको अपेक्षा गरिएको आयोजकले बताएको छ ।
संवाद कार्यक्रम धुलाबारीस्थित जेसीज टाउन हलमा १२ गते मंगलबार मध्याह्न १२ बजे सुरु हुने शनिबार कार्यक्रम स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
सो अवसरमा संचारकर्मीहरुले ककस कार्यक्रमको मर्म नमर्ने गरी मौखिक रुपमा प्रत्यक्ष प्रश्न गर्न सक्ने वातावरण बनाउन आयोजकलाई सुझाएका थिए ।
धुलाबारी जेसीजका अध्यक्ष ढकालको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष देबु बानियाँले गरेका थिए ।
कार्यक्रममा धुलाबारी जेसीजका पूर्व अध्यक्ष केशव पोख्रेल, धुलाबारी लेडी जेसीजका महासचिव कल्पना प्रसाईंलगायतले बोलेका थिए ।
कार्यक्रमलाई धुलाबारी जेसीजसँगै बाहुण्डाँगी, चारआली जेसीज र लेडी जेसीज धुलाबारीले संयुक्तरूपमा आयोजना गरेको राष्ट्रिय उपाध्यक्ष बानियाँले बताए ।
कार्यक्रममा सहभागी भई उमेदवारलाई आफ्ना जिज्ञासा राख्न आयोजकले क्षेत्र नं १ बासीमा आग्रह गरेको छ ।