मेचीनगर । झापा निर्वाचन क्षेत्र नं १ अन्तर्गत निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
आसन्न प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउने उद्देश्यले शुक्रबार मेचीनगर नगरपालिकाको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको हो ।
निर्वाचन आयोगको कार्यतालिकामा शुक्रबारबाट देशका १६५ वटै निर्वाचन क्षेत्रमा अधिकृतको कार्यालय स्थापना हुने उल्लेख छ ।
झापा क्षेत्र नं १ को निर्वाचन अधिकृतमा सर्वोच्च अदालतका इजलास अधिकृत(उपसचिव) गाेपी विश्वकर्मा रहेका छन् ।
त्यस्तै सहायक निर्वाचन अधिकृतमा झापा जिल्ला अदालतका शाखा अधिकृत टेकबहादुर श्रेष्ठ रहेको क्षेत्र नं १ को निर्वाचन कार्यालयले जनाएको छ ।
कार्यालयमा अन्य सहायक कर्मचारी, प्राविधिकसहित ९ जनाको टोली खटिएको हो ।
कार्यालयमा सशस्त्र तथा जनपथ प्रहरीको टोली सुरक्षामा खटिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै निर्वाचन कार्यतालिकासमेत प्रकाशन गरिएको छ ।

जसअन्तर्गत माघ ६ गते उम्मेदवारकाे मनाेनयन दर्ता गर्ने कार्यतालिका रहेको निर्वाचन अधिकृत विश्वकर्माले बताए ।
फागुन २१ गते विहान ७ वजेदेखि ५ वजेसम्म मतदान गर्ने तालिका छ ।
झापा १ मा ४५ मतदान स्थलमा १४५ वटा मतदान केन्द्रमार्फत १ लाख ३१ हजार ६७ जना मतदान गर्दैछन् ।