धुलाबारी । मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले आफू संलग्न भएको काममा गल्ती नहोस् भनेर सचेत रहेको बताएका छन् ।
बोर्डरल्यान्ड दैनिक एक वर्ष पुगेको अवसरमा धुलाबारीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा बोल्दै नगर प्रमुख बुढाथोकीले हाल आफुहरु दोहिरो चपेटामा परेको बताए ।
आम नागरिक हरेक सेवा सुविधा र योजना सहज र छिटोछरितोरुपमा प्राप्त गर्न चाहने तर, सरकारको नीति नियम झन्झन् कडा हुँदै जाँदा सेवा प्रवाह भने जसरी हुन नसकेको बताए ।
सरकारी प्रणाली र स्रोत साधनको प्रयोगमा दिनानुदिन कडाई हुँदा त्यस्को आक्रोश आफुहरुले झेल्नु परेको बताउँदै जतिसक्दो जनमुखी सेवा प्रवाहमै आफू लागि परिरहेको बुढाथोकीले दाबी गरे ।
मेचीनगरले हालै सरकार र अर्थ मन्त्रालयको परिपत्र कार्यान्वयन गर्दै सयबढी करार सेवाका कर्माचारीको करार सम्झौता रद्द गर्दै सेवाबाट हटाउने निर्णय गरेको थियो । तर, नगरका दल तथा अन्य सरोकारवालाहरुको दबाब झेल्न नसकी नगरपालिका आफ्नै निर्णयबाट पछि हटेको थियो ।
हालै उठेको जेनजी आन्दोलनको क्रममा भदौ २३ र २४ गतेका घटनाका दोषी दुबै पक्ष कारबाहीको भागेदार बन्नु पर्ने बताउँदै उनले त्यसपछि उत्पन्न परिस्थितिबाट सिंगो समाज अझै स्तब्ध एवम् त्रसित बनेको बताए ।
सरकारी तथा निजी सम्पत्तिमा आगजनी तथा तोडफोड भएको विषय उठाउँदै मेयर बुढाथोकीले राजनीतिक दलकै मान्छेहरु तोडफोडमा संलग्न भएको जानकारी आफुहरुले प्राप्त हुनु अत्यन्त दु:खद रहेको बताए ।
बोर्डरल्यान्ड दैनिक दोस्रो वर्ष प्रवेश गरेको अवसरमा धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित कार्यक्रममा नगरका पत्रकार तथा राजनीति दलका प्रमुख तथा प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि उपस्थित थिए ।

सोअवसरमा पत्रिकाको आरोहअवरोह बारे जानकारी गराउँदै पत्रिकाका प्रधान सम्पादक झुलन रेग्मीले कठिनाइका साथ आफ्नो नेतृत्वको टिमले पत्रिकालाई एक वर्ष डोर्याउन सफल भएको बताए ।
उनले पत्रिकालाई नैतिक समर्थन मात्र गरेर नपुग्ने बताउँदै पत्रिकाको निरन्तरताका लागि व्यवसायिकरुपमा सहयोग आवश्यक रहेको बताए ।
जिल्लामै लोप हुँदै गएको दैनिक पत्रिका संचालन दिनानुदिन चुनौतीपूर्ण रहेको बताउँदै सम्पादक रेग्मीले यसको निरन्तरताको लागि स्थानीय नगर सरकारले सहयोग गर्न नगर प्रमुख बुढाथोकी समक्ष ध्यानाकर्षण गराए ।
कार्यक्रममा अग्रज पत्रकार एवम् शुभेच्छुकहरुले बधाई तथा शुभकामना प्रकट गर्दै पत्रिकाको निरन्तरताका लागि आफुहरुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा मेचीनगर-७ का अध्यक्ष प्रलादमणि ओली, जनता समाजवादी पार्टीका नगर अध्यक्ष धनबहादुर राई, नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, प्रेस क्लब मेचीनगरका अध्यक्ष प्रकाश पौडेल, पत्रकारहरु ज्ञानेन्द्र निरौला, राजेन्द्र गौतम, पर्वत पोर्तेललगायतले मिडिया क्षेत्रको चुनौती र उठान गरिने विषयवस्तुबारे आफ्नो धारणा राखेका थिए ।
सोही अवसरमा पत्रिकाका कुमार श्रेष्ठलाई उत्कृष्ट वितरकको रुपमा सम्मान गरिएको थियो
पत्रिकाका संचालक समिति अध्यक्ष भिमबहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संचालक कमल गौतम र संचालन सम्पादक प्रकाश उप्रेतीले गरेका थिए ।