झापा । हाल नेपालका अधिकांश विश्वविद्यालयमा विद्यार्थी संख्या अत्यन्त न्यून हुँदै गएका छन् । त्यस्तै विद्यार्थी अभावको समस्याबाट यतिबेला जकेडिएको छ कृषि तथा वन विज्ञान विश्वविद्यालय ।
विश्वविद्यालय (एएफयू) मा विद्यार्थीको चरम अभाव देखिएको छ । विश्वविद्यालयको कार्यक्रम चलिरहेको धनकुटा पाख्रीबासस्थित कृषि कलेजमा ५० मध्ये ३१ सिट अपुग रहेको क्याम्पस प्रशासन स्रोतले बताएको छ । त्यस्तै सिन्धुलीमा ५० मध्ये २९ सिट अपुग छ ।
स्रोतले दिएको जानकारी अनुसार केन्द्रीय क्याम्पस रामपुरमै १६५ सिटमध्ये १८ सिट खाली छ । कैलालीको टीकापुरमा २७ सिट अपुग रहेको र महोत्तरीको बर्दिबासमा २८ सिटमा विद्यार्थी अपुग छन् ।
५० जनाको कोटामा रोल्पाको कृषि कलेजमा कोही पनि विद्यार्थी भर्ना नै भएनन् भने बाँकेको खजुरा कलेजमा सात जनाले मात्रै भर्ना लिएका कलेजहरूले जनाएका छन् ।
‘यो वर्ष क्याम्पस खाली भयो,’ एक सञ्चालकले भने, ‘भर्ना हुनका लागि विद्यार्थी नै पुगेनन् । विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा कम विद्यार्थी पास भए, त्यसैले विद्यार्थी नआएका हुन् ।’
यो वर्ष क्याम्पस खाली नै हुने उनले बताए । ‘पहिलो सेमेस्टरका लागि विद्यार्थी भएनन् । अब अर्को वर्षलाई नै कुर्नुप¥यो,’ उनले भने, ‘अरू सेमेस्टर त चलिरहेका छन् । २०७६ सालमा स्थापना भएयता यसपालि नै यस्तो भएको हो । यसअघि खाली बस्नुपरेको थिएन ।’
यसको मुख्य कारण विद्यार्थी नै नहुनु र विश्वविद्यालयको प्रवेश परीक्षामा विद्यार्थी पास हुन नसक्नु मूल समस्या भएको उनले बताए ।
‘क्याम्पसको भविष्य संकटमा छ,’ एक सञ्चालकले भने, ‘सात जना भर्ना भएका छन् । आधाभन्दा कम विद्यार्थी भएपछि अन्त सरुवा गर्ने भन्ने छ । सायद हाम्रोमा नभएका विद्यार्थीलाई अन्त पठाउन सकिन्छ वा अन्त नपुगेका विद्यार्थी हाम्रोमा पठाउन पनि सकिन्छ, निर्णय केन्द्रले गर्छ ।’
विद्यार्थी अभावको समस्या वन तथा कृषि मात्र नभई नेपालकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयमा समेत विद्यार्थी अभाव हुन थालेको सम्बन्धित क्याम्पस प्रशासन स्रोतले बताएको छ । विद्यार्थी अभावका कारण केही आङ्गिक क्याम्पसहरुले आफ्ना केही संकाय तथा कार्यक्रमहरु हटाएका छन् ।