भद्रपुर । माध्यमिक शिक्षा परीक्षा(एसइई) २०८१ मा ४ जिपिए ल्याउने झापाका १८ विद्यालयलाई सम्मान गरिएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई झापाले सोमबार एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट जिपीए हासिल गर्ने विद्यालयलाई सम्मान गरेको हो ।
झापाका ४ सामुदायिक तथा १४ संस्थागत गरी १८ विद्यालयका ३३ जनाले उत्कृष्ट ४ जिपीए हासिल गरेका थिए ।
झापामा संभवत पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरिएको सहभागीहरुले बताएका छन् ।
विद्यार्थीहरुमा प्रेरणा जगाउँदै सो वातावरण तय गर्न खेलेको भुमिकालाई कदर गर्दै कदर पत्र, दोसल्ला र प्रमाणपत्रद्वारा झापाका शिक्षा शाखा प्रमुखहरुको उपस्थितिमा विद्यालयलाई सम्मान गरिएको झापाका इकाई प्रमुख उपसचिव कुमार बस्नेतले बताए ।

झापाका १५ पालिका मध्ये ७ पालिकाका १८ विद्यालयले उच्चतम ४ जिपीए नतिजा हासिल गरेका छन् । जसमा ४ सामुदायिक तथा १३ संस्थागत विद्यालय छन् ।
झापाको बिर्तामोड नगरपालिकाका ११ जना, गौरादहका ८ जना, दमकका ६ जना, भद्रपुरका ३ जना, मेचीनगरका २ जना, गौरिगन्जका २ जना र अर्जुनधारा नगरपालिकाका १ गरी ३३ जनाले ४ जिपीए प्राप्त गरेको समन्वय इकाइ झापाले जनाएको छ ।
मेचीनगरबाट इष्ट होराइजन अंग्रेजी माविकि अन्वेषा श्रेष्ठ तथा पारिजात पब्लिक स्कुलकी नुब्सा लिम्बू थलङ रहेका छन् ।
झापाबाट एसइई २०८१ कुल ३९२ विद्यालयका १५ हजार १५७ अर्थात ६५.७४ प्रतिशत विद्यार्थी ग्रेडेड हुँदै कक्षा ११ पढ्न योग्य देखिएका छन् ।
सो अवसरमा सम्मानित हुने विद्यालयहरुको तर्फबाट माउन्ट एभरेष्ट अंग्रेजी माविका संस्थापक नारायण घिमिरे, हिमालय मावि दमकका प्रअ द्रोण श्रेष्ठले धन्यवाद ज्ञापन गर्दै यस किसिमका प्रेरणा जगाउँने कार्यक्रमले निरन्तरता पाउनु पर्ने धारणा राखे ।

कार्यक्रममा मेचीनगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव होमनाथ भण्डारी, प्रमुख अतिथि शिक्षा समिति झापाका अध्यक्ष जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालले उत्कृष्ट नतिजा हासिल हुनमा शिक्षकको प्रमुख भूमिका रहने बताउँदै विद्यालय र अभिभावकको समन्वय भएमा शैक्षिक स्तर उठाउँन सकिने बताए ।
इकाई प्रमुख बस्नेतको अध्यक्षता एवम् जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बरालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यालयका प्राविधिक सहायक कृष्टिना न्यौपाने र संचालन कार्यालयका शाखा अधिकृत एवम् सूचना अधिकारी किरण अधिकारीले गरेका थिए ।