झापा । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयले गरेका असल अभ्यासहरूको सँगालो– २०७९/८० प्रकाशित गरेको छ ।
सो सँगालोमा सातवटा प्रदेशका २१ वटा उत्कृष्ट सामुदायिक विद्यालयलाई कार्यसम्पादन मूल्यांकन र स्थलगत अध्ययनका आधारमा प्राप्ताङ्कसहित सूचीकृत गरिएको छ ।
जसमा कोशी प्रदेशबाट तीनवटा उत्कृष्ट विद्यालय छनोट भएका छन् ।

जस अन्तर्गत मोरङका पोखरिया र नरग्राम मावि तथा झापाको आदर्श मावि परेको केन्द्रले जनाएको छ ।
जसमा आदर्श मावि झापाले ८५.८ अंक प्राप्त गर्दै देशभरमा १२ औँ स्थान हासिल गरेको छ । कोशी प्रदेशमा पोखरिया मावि मोरङपछि दोस्रो स्थान गरेको छ भने झापामा पहिलो स्थान हासिल गरेको छ ।
सो सँगालोमा दिइएको जानकारी अनुसार, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६० जिल्लाका ४ हजार ८६७ वटा विद्यालयको कार्यसम्पादन परीक्षणमा उच्च अङ्क प्राप्त गरेका विद्यालयहरू मध्ये हरेक प्रदेशबाट सर्वोच्च अङ्क ल्याउने तीन-तीन वटाका दरले २१ वटा विद्यालयहरू छनोट गरिएको थियो ।
त्यसरी छानिएका २१ वटा विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ, विद्यार्थीको सिकाइ उपलब्धि स्तर लगायत विद्यालयको समग्र व्यवस्थापकीय गतिविधिको स्थलगत अवलोकन समेत गरी विभिन्न १६ वटा सूचकको आधारमा विद्यालयहरूको उत्कृष्टता निर्धारण गरिएको कुरा पनि सो सँगालोमा स्पष्ट पारिएको छ ।
सँगालोमा २१ वटै विद्यालयले मूल्याङ्कनका हरेक बुँदामा पाएको अङ्क सहित संक्षेपमा हरेक विद्यालयले गरेका राम्रा अभ्यास र विशेषताहरू उल्लेख गरिएको छ ।
आदर्श मावि यसअघि शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजामा समेत देशभरमा ११ औं, कोशीमा दोस्रो तथा झापामा पहिलो स्थान हासिल गरेको थियो ।
विद्यालयको सम्पूर्ण टिमको सामुहिक प्रयासबाट विद्यालयले निरन्तर सफलता हासिल गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण पुरीले प्रतिक्रिया दिए ।
प्रअ पुरीका अनुसार विद्यालयले सोही आर्थिक वर्षमा व्यवस्थापकीय तथा शैक्षिक सुधारमा उत्कृष्ट बन्दै ५ लाख प्रोत्साहन पुरस्कार यसअघिनै प्राप्त गरेको छ ।