काँकरभिट्टा । इभी नेपाल यातायात प्रालिका गाडीहरु बस टर्मिनल ट्र्याकबाट संचालनमा आएका छन् ।
सोमबार एक कार्यक्रमका बीच काँकरभिट्टा बस टर्मिनलमा इभीको ट्र्याक उद्घाटन गरिएको हो ।
इभी बस टर्मिनल काउन्टर अघि सबैभन्दा पश्चिम लाइनमा रहनेछन् । जुन लाईनमा यसअघि छोटो दुरीका मेजिक गाडीहरु रहन्थे ।
इभी बस टर्मिनल भित्रको ट्र्याकमा रहने सन्दर्भमा सुरुवातमा विवाद उत्पन्न भएको थियो । तर, आधुनिक प्रविधि र सुविधासम्पन्न साधनको रुपमा उपस्थिति जनाएको इभी आफुले अन्य यातायातका साधन सोसरह ठाउँ पाउनु पर्ने अडानमा थियो ।
सोही अवस्थाका बीच स्थानीय सरोकारवाला तथा वस पार्क व्यवस्थापन समितिको समन्वयमा सोमबार मेचीनगर प्रमुख गोपालचन्द्र बुढाथोकीले रिबन काटेर इभीको ट्र्याक उद्घाटन गरे ।
सोपछि बोल्दै नगर प्रमुख बुढाथोकीले समयक्रमसँगै आउने परिवर्तन र विकासलाई अंगालेर अघि बढ्नुपर्ने धारणा राखे ।
जहाँ अहिले मेजिक गाडीहरु रहन्छन् पहिले त्यहाँ मिनी बस बस्ने गरेको बताउँदै मेयर बुढाथोकीले सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको बताए ।
सोअवसरमा पूर्व मेची बस व्यवसायी प्रालि अध्यक्ष राजेन्द्र रिजाल, टर्मिनल बसपार्क तथा पार्किङ व्यवस्थापन समिति अध्यक्ष डिल्लीराम घिमिरेलगायतले प्रदुषणरहित सवारी साधनको रुपमा भित्रिएको इभीलाई सबैले स्वागत र सहयोग गरेर अघि बढ्नुपर्ने बताए ।
इभी नेपाल यातायात प्रालि अध्यक्ष सन्तोष आचार्यले संवद्ध सबै पक्षसँग हातेमालो गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
अध्यक्ष आचार्यले इभी र मेजिक संचालक बीचमा बिर्तामोड सम्मका यात्रुहरु इभीले नचढाउने र आपसी सहकार्यका साथ अघि बढ्ने गरी सहमति भएको बताए ।
बस पार्क व्यवस्थापन समिति सदस्य नेत्र कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत समिति सचिव माधव अर्याल र अध्यक्षता बस पार्क व्यवस्थापन समिति अध्यक्ष घिमिरेले गरेका थिए ।
इभी नेपालले आफ्नो कम्पनिमा ५ वटा गाडीहरु भित्र्याएको छ भने अन्य कम्पनीमा आवद्ध गाडीहरु समेत हाल संचालनमा छन् ।