मेचीनगर । चारआली सानासहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले कक्षाकोठासम्म खानोपानी पु¥याउने योजना सुरु गरेको छ ।
खानेपानी संस्थाले आफ्नो सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयमा धारा र कक्षाकोठामा पानीको जार उपलब्ध गराउने निर्णय गरेको संस्थाका अध्यक्ष राजन चिमोरियाले बताए ।
अध्यक्ष चिमोरियाका अनुसार संस्थाको क्षेत्र भित्रका ४ वटा वडा ११, १२, १३ र १४ का ७ वटा सामुदायिक विद्यालयमध्ये ३ वटा स्कुलमा धारा जडान भई सकेको र बाँकी ३ वटामा एक हप्ता भित्रमा धारा जडान हुनेछ ।
यसअघि विद्यालयका विद्यार्थीहरु कल वा इनारको पानीमा आश्रित रहेको विद्यालय स्रोतले बताएका छन् ।
पानी पिउनका लागि कक्षाकोठा छाड्ने र विद्यालय बाहिर जानुपर्ने अवस्थाको अन्त्य गर्न स्कुल स्कुलमा नि:शुल्क धारा जडान गर्ने योजना अगाडि बढाईएको अध्यक्ष चिमोरियाले बताए ।
चिमोरियाका अनुसार कक्षाकोठामा २० लिटर क्षमताका जार राखिने छ ।
विद्यालयलाई धारा निःशुल्क जडान गरिएको छ भने धारा जडानको शुल्क अध्यक्ष चिमोरियाले ब्यक्तिगतरुपमा संस्थालाई उपलब्ध गराएका छन् ।
अध्यक्ष चिमोरियाको ब्यक्तिगत लगानीमा यसअघि आफ्नो सेवाक्षेत्र भित्रका विभिन्न सामुदायिक संस्थामा ६ लाख ५० हजार बढीको धारा जडान भइसकेका छन् ।
संस्थाले सर्वपक्षीय भेलाबाट सो निर्णय गरेको हो । भेलामा संस्थाका पदाधिकारी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापक सहभागी थिए ।
सामाजिक सेवामा निरन्तर काम गरिरेहेका चिमोरिया मेचीनगरका विभिन्न क्षेत्रमा सहयोग लिएर उपस्थित हुने गरेका छन् ।
चिमोरियाले मेचीनगरका ४२ वटै सामुदायिक विद्यालयमा कुनै न कुनै किसिमका कार्यक्रम लिएर जाने आफ्नो ब्यक्तिगत योजना रहेको सुनाए ।