मेचीनगर । मेचीनगरका शिक्षक कृष्णप्रसाद पौडेलको बुधबार निधन भएको छ ।
मेचीनगर-३, बडाखाल निवासी पौडेल काँकरभिट्टा माविमा माध्यमिक तह तृतीय श्रेणी लेखा विषय शिक्षकको रुपमा कार्यरत थिए ।
जेठ २७ गते मंगलबार विहान आफ्नै खेतमा धानको बीउ राख्ने क्रममा पौडेललाई आफैले बनाएको हिलो तान्ने दाँदेको काँटीले घोचेको थियो ।
सोही दिन दिउँसो स्थानीय मेडिकलमा टिटानसको सुइ लगाएका पौडेल घाउँमा संक्रमण बढ्दै गएपछि असार २ गते भारतको सिलिगुडीस्थित अस्पताल भर्ना भएका थिए ।
जहाँ उनका सहोदर भाइ भारतीय सेनाका ‘एमबीबीएस चिकित्सक’ कार्यरत थिए ।
मधुमेहको सामान्य स्वास्थ्य समस्या रहेका पौडेलको अस्पतालको आइसियुमा उपचाररत रहेकै अवस्थामा मुखबाट श्वास फेर्न समस्या भएर स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि एकहप्ता अघि घाँटीको शल्यक्रियासमेत गरिएको थियो ।
पछिल्लो समय भेन्टिलेटरमा रहेर उपचाररत पौडेललाई बुधबार विहान नेपाल ल्याइएको थियो । बुधबार विहाननै घरमा धार्मिक विधि अनुसार कर्म गरे लगत्तै करिब १२ बजे उनको निधन भएको पौडेलका सहकर्मी शिक्षक चन्द्र बरालले बताए ।
पौडेलको बुधबार अपराह्न स्थानीय घाटमा अन्तिम संस्कार गरिएको छ ।
पौडेलको निधनबाट मेचीनगरले सालिन, भद्र र विषयमा दखल राख्ने शिक्षक गुमानु परेको बताउँदै नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष होमराज ढकालले निधनले आफुहरु अत्यन्त स्तब्ध बनेको बताए ।
अन्तिम संस्कारमा ठूलो संख्यामा शिक्षक तथा शुभेच्छुक सहभागी थिए ।
५८ वर्षीय पौडेलले २०५२ सालमा काँकरभिट्टा माविबाट शिक्षण सेवा सुरु गरेका थिए ।
२०७५ सालमा माध्यमिक स्थायी शिक्षकमा नियुक्त पौडेल मावि तह ९-१२ मा अध्यापन गर्दै आइरहेका थिए ।
पौडेलको निधनमा मेचीनगर शोकमग्न भएको छ ।
लामो समय कुशल शिक्षकको रुपमा कार्यरत पौडेलको निधनले बडाखालले गाउँको चम्किलो नक्षत्र गुमाएको स्थानीय शिक्षक देबु बानियाँले बताए ।
पौडेलका बुवाआमा, श्रीमती र दुई छोराहरु छन् ।