काँकरभिट्टा । काँकरभिट्टा माविको प्रधानाध्यापकमा देवेन्द्र निरौला नियुक्त भएका छन् । निवर्तमान प्रअ हरि न्यौपानेले सरुवा लिएपछि मंगलबार व्यवस्थापन समितिको बैठकले निरौलालाई प्रअ नियुक्त गरेको हो ।
२०७३ असारबाट माध्यमिक विज्ञान शिक्षकको रुपमा काँकरभिट्टा माविमा कार्यरत निरौला वरिष्ठताको आधारमा प्रअ नियुक्त भएका हुन् ।
नवनियुक्त प्रअ निरौलाले २०६० सालबाट तात्कालिन इलामको पशुपतिनगरस्थित बौद्धधाम माविमा निमावि विज्ञान स्थायी शिक्षकको रुपमा सरकारी शिक्षण सेवा सुरु गरेका थिए ।
२०६९ सालमा धुलावारी मावि सरुवा भइ झापा आएका निरौला २०७२ सालमा मावि विज्ञान शिक्षकमा झापाको साबिक शान्तिनगरस्थित शान्ति आदर्श माविमा नियुक्त भएका थिए ।
विद्यालयको शैक्षिक सुधारमा आफ्नो ध्यान केन्द्रित रहने बताउँदै नवनियुक्त प्रअ निरौलाले सबै स्टाफहरुको साथ लिएर आफू अघि बढ्ने प्रतिक्रिया दिए ।
मेचीनगर–१० धुलाबारी घर भएका निरौला विज्ञानमा स्नातक र शिक्षा शास्त्रमा स्नातकोत्तर हुन् ।
न्यौपाने फेरि बन्लान त प्रअ !
काँकरभिट्टा माविबाट सरुवा लिएर मेचीनगर–९, स्थित कविशिरोमणी मावि पुगेका न्यौपानेलाई उता पनि प्रअ बन्ने बाटो खुल्लानै छ ।
कवि शिरोमणी माविका हालका प्रअ दामोदर ढुंगेलभन्दा न्यौपाने वरिष्ठताको आधारमा अघि हुनेछन् । यद्यपि फेरि प्रअ बन्ने सन्दर्भमा, न्यौपाने आफु प्रअ बन्नका लागि सरुवा नलिएको बताउँछन् ।
गतवर्षको मंसिर महिनामै रिक्त भएको पदमा ६ महिना भन्दाबढी समयसम्म विद्यालयले शिक्षक नियुक्त गर्न सकेको थिएन ।
विषय परिवर्तन, विद्यालयको आवश्यकता अनुरुपको शिक्षकको खोजीमा समय बितेको विद्यालय स्रोत दावी गर्छ ।
तर, नेतृत्व र प्रशासनिक ‘लबिङ्’ मिलाउनकै लागि लामो समय रिक्त रहेको पदमा सरुवा वा शिक्षक नियुक्ति प्रकृया हुन नसकेको विद्यालयका जानकारहरु बताउँछन् ।
हालका प्रअ ढुंगेलले यसअघिनै प्रधानाध्यापक पदबाट राजीनामा बुझाई सकेको कविशिरोमणी माविका शिक्षक अभिभावक संघका अध्यक्ष चुडामणी रेग्मीले बताए ।
‘कार्य ब्यस्तता र स्वास्थ्यको कारण देखाउँदै दामोदर सरले राजीनामा बुझाउनु भएको छ’ रेग्मीले भने,‘ अब आउने सर पनि प्रअ नबन्ने सोचमा रहेको सुनेको छु, वरिष्ठताको आधारमा प्रअ बन्ने अवस्था नआएमा अन्य विकल्पबाट प्रअ छनोट गरिने छ ।’
काँकरभिट्टा माविबाट मंगलबार रमाना लिएका न्यौपाने बुधबार कविशिरोमणी माविमा हाजिर हुनेछन् ।
प्रअ वा सरुवा वैधानिक बाटोबाट गरिएको साङ्गठनिक मिलान हो वा यो एक सामान्य सरुवा प्रक्रिया हो, सो थाहा पाउन भने केही समय कुर्नु पर्ने देखिएको छ ।