विर्तामोड । झापाको विर्तामोड नगरपालिकाले विद्यार्थी प्रतिभा पहिचान कार्यक्रम आयोजना गरेको छ ।
नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव तिलचन भण्डारीका अनुसार प्रोत्साहन पहिचान कार्यक्रम तहगतरुपमा सञ्चालन गरिने छ ।
पछिल्लो समय विर्तामोड नगरपालिकाले शिक्षामा लगानी र प्रतिफलको योजना अनुसार सफल अभ्यासका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
शिक्षा शाखाले एक सूचना जारी गर्दै प्रतिभा पहिचान कार्यक्रमबारे सहभागी हुन आह्वान गरेको छ ।
प्रतिभा पहिचान कार्यक्रममा कक्षा १–३ का विद्यार्थीले कागजका सामग्री बनाउने छन्, कक्षा ४–५ का विद्यार्थीहरुले पाठ्यपुस्तकका बालगीत हाउभाउसहित प्रस्तुति दिनेछन् ।
त्यस्तै कक्षा ६–८ का विद्यार्थीहरुले भेलवेट डोरी प्रयोग गरेर नाम्लो, दाम्लो, मुखारीलगायतका परम्परागत सामग्री बनाउने छन् ।
कक्षा ४ देखि १० का विद्यार्थीहरुले खुला प्रतियोगितात्मकरुपमा जनावर, पशुपक्षी, लोक बाजाहरुको आवाज नक्कल गर्नेछन् ।
त्यसैगरी कक्षा ९ देखि १२ का विद्यार्थीहरुले थिमको आधारमा कथा लेखन र वाचन गर्नेछन् ।
प्रतियोगितामा सहभागी बन्ने विद्यार्थीहरुलाई विद्यालयमा प्रतिस्पर्धा गराई उत्कृष्ट छनोट गरी पठाउन शाखाले अनुरोध गरेको छ ।
शिक्षा शाखा बिर्तामोडले हालै शैक्षिक वर्ष २०८१ मा भएको सिकाइ सुधार अभियान कार्यक्रमको समीक्षा तथा आगामी वर्षको कार्ययोजनासम्बन्धी कार्यशाला सम्पन्न गरेको थियो ।
विर्तामोड नगरपालिकाले शिक्षाको क्षेत्रमा संचालन गरेका योजनाहरु झापामै भिन्न र फरक तरिकाको देखिएको विज्ञान शिक्षक समाज झापाका अध्यक्ष लिलाप्रसाद भण्डारीले बताए ।
'हेर्दा सामान्य लाग्ने तर, बालबालिकाको मनोविज्ञान र कक्षाकोठासँग जोडिएका शैक्षिक गतिविधि यो वर्ष थुप्रै भए, विर्तामोड-५, स्थित देवी माविका सहायक प्रधानाध्यापकसमेत रहेका भण्डारीले भने,'हरेक स्थानीय तह मातहतका शिक्षा शाखाले यसरी कार्यक्रम संचालन गरे शैक्षिक गुणस्तर माथि उकास्न सहयोग मिल्नेछ ।'
शिक्षा शाखा प्रमुख भण्डारीका अनुसार शिक्षा शाखाले सिमित बजेटको अधिकतम प्रयोग गर्दै शैक्षिक गतिविधिहरु सञ्चालन गरिरहेको छ ।
अहिले आयोजना गर्न लागिएको प्रतिभा पहिचान कार्यक्रमहरुमा समेटिएका विषयवस्तुसमेत तहगतरुपमा रहेका पाठ्यक्रम भित्रबाटै समेटिएको उपसचिव भण्डारीले बताए ।
गतवर्ष नगरको स्रोतमध्ये २ करोड ५० लाख बराबरको बजेट नगरले शिक्षामा छुट्याएको थियो ।
यो आर्थिक वर्षमा सवा तीन करोड बराबरको बजेट माग गर्ने तयारी भइरहेको भण्डारीले बताए ।
यदि माग गरिए बमोजिमको बजेट शिक्षा शाखाले प्राप्त गरेमा अझ नयाँ र फरक किसिमका शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्ने योजना आफूहरुको रहेको उपसचिव भण्डारीले बताए ।