बिर्तामोड । कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीमा झापाको बुद्धशान्तिको आदर्श माविले प्रथम स्थान हासिल गरेको छ । पहिलो बनेको आदर्शले नगद ४ लाख प्राप्त गर्यो ।
त्यस्तै झापा बिर्तामोडको देवी माविले दोस्रो स्थान हासिल गर्यो । तेह्रथुमको सिंहदेवी मावि तेस्रो हुँदा चौथो स्थानको पुरस्कार घोषणानै गरिएन । दोस्रो र तेस्रो बनेका विद्यालयहरुले क्रमश नगद ३ लाख र २ लाख रुपैयाँ प्राप्त गरे ।
त्यस्तै ९ वटा विद्यालयलाई प्रोत्साहन स्वरुप २५ हजार पुरस्कार प्रदान गरिएको छ ।
जसमा फिदिम मावि पाँचथर, फिक्कल मावि इलाम, ल्याबोरटरी मावि सुनसरी, चिसापानी मावि खोटाङ, भानु जन मावि ताप्लेजुङ, मनकामना रत्न अम्बिका मावि संखुवासभा, हिमाली मावि झापा, त्रिवेणी मावि धनकुटा र रिलाइन्स अंग्रेजी मावि मोरङ रहेका छन् ।
विजेतालाई प्रमुख अतिथि नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।
प्रदर्शनीको प्रमुख निर्णायकमा त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर मोतिराम शर्मा र सदस्यमा नाष्टका वैज्ञानिक डा. सुरेशकुमार ढुङ्गेल र कुलमाया मावि सूर्यविनायक भक्तपुरका प्रअ एवम् विज्ञान शिक्षक हेमन्त ढुङ्गाना रहेका थिए ।
समापन समारोहको अवसरमा मेची आँखा अस्पताल झापाका प्रमुख जलकुमार गुरुङ, प्रमुख अतिथि राईलगायतले बोलेका थिए ।
अर्जुनधारा नगरपालिकाकी उपप्रमुख खड्गमाया पराजुलीले स्वागत गरेको समापन सत्रको अध्यक्षता विज्ञान विभाग प्रमुख गणेश पोख्रेल र संचालन मदन भण्डारी झापाका सचिव शिव ढुङ्गेलले गरेका थिए ।
पुरस्कार वितरणमा विवाद :
बिर्तामोडमा आयोजित विज्ञान प्रदर्शनीमा पुरस्कारको विषयमा विवाद सिर्जना भएको छ । प्रदर्शनीमा पहिलो, दोस्रो, तेस्रो र चौथो स्थान हासिल गर्ने विद्यालयलाई नगद पुरस्कार दिइने उल्लेख थियो ।
त्यस्तै प्रोत्साहनस्वरुप २५ विद्यालयलाई प्रति विद्यालय २५ हजारका दरले पुरस्कार दिइने आयोजकले जनाएको थियो । तर, समापन समारोहमा निर्णायकले पहिलो, दोस्रो र तेस्रो पुरस्कार मात्र घोषणा गरेपछि सहभागी विद्यालयहरु बीचमा खैलाबैला सुरु भएको थियो ।
त्यसैगरी निर्णायकले थप २५ विद्यालयको नाम लिनु पर्नेमा प्रोत्साहन पुरस्कारका लागि ९ वटा मात्र विद्यालयको नाम लिए पछि माहोल अझ गरमागरम बनेको थियो ।
असन्तुष्ट विद्यालय तथा शिक्षकले निवेदननै दिएका थिए । तर, निवेदनको कुनै सुनुवाइ नभएको सहभागी शिक्षकहरुले बताए ।
सो सम्बन्धमा आयोजकका अध्यक्ष गणेश पोख्रेलले सबै जिल्लाबाट सहभागी नभएको र प्रतिस्पर्धी विद्यालयनै न्यून भएकाले पुरस्कार संख्या घटाइएको कार्यक्रम स्थलमा जानकारी दिएका थिए ।