बिर्तामोड । यतिबेला झापाको बिर्तामोडमा विज्ञान तथा प्रविधि प्रदर्शनी जारी छ ।
नेकपा एमाले विज्ञान विभाग कोशीले आयोजना गरेको प्रदर्शनीमा प्रदेशका ५० विद्यालय सहभागी छन् ।
कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले खोज, परिकल्पना र अनुसन्धानबाट तयार पारिएका प्रोजेक्ट तथा परियोजना प्रदर्शन भइरहेको छ ।
ती मध्ये केही प्रोजेक्टहरुको चर्चा गरिएको छ, जसले अवलोकनकर्ताको ध्यान खिचिरहेका छन् ।
देवी रोबोट :
प्रदर्शनीको अग्रभागमै हेर्न आउने जो कोहीलाई स्वागत गरिरहेको हुन्छ देवी रोबोटले ।
देवी रोबोट बनाउन ४ विद्यार्थी १ महिना खटेका छन् । कक्षा ११ को विज्ञान संकायका ३ जना र व्यवस्थापन संकायका एकजना रोबोट बनाउने टिममा थिए ।

'सुरुमा बनाएको रोबोट हिँड्न सकेन, विज्ञान पढ्दै गरेका विद्यार्थी आयुष प्रसाईंले भने, 'यो हाम्रो दोस्रो प्रयासको सुखद नतिजा हो ।'
रोबोट बनिसक्दा कति खर्छ लागेको छ, उनी र उनका साथीहरूले हिसाब गर्न भ्याएका छैनन् ।
‘रोबोटको हरेक अंग-अंग हामीले कयौं स्थानमा गएर जोड्दै फ्रेम तयार पार्दै निर्माण गरेउं, अर्का विद्यार्थी सबिन बाँस्कोटाले भने, यो बनाई सक्दा हामीले ३० दिन घर छाडेउं, बिर्तामोड चाहारेउँ ।
जित्लात ४ लाख रोबोटले?, भन्ने प्रश्नको उत्तरमा रोबोटसँगै उभिएका अनिश र सुवर्ण भन्छन्, “पुरस्कार जितौं या नजितौँ यहाँ आउने जतिले हेरेर बधाई दिंदै जानू भएको छ त्यस्मै हामी खुशी छौं ।"
युगान्सुको इभी बाइक :
त्रिवेणी मावि धनकुटा, चुलिबनका १५ वर्षीय युगान्सु रिजालले बनाएको इभी बाइक पनि प्रदर्शनीको केन्द्रमै छ । उनीरहेको स्टल प्रायजसो कयौं विद्यार्थीले जतिबेलै घेरिएको देखिन्छ । 
भर्खरै एसईई दिएका उनी नेपालमै पहिलोपटक गियरसहितको विद्धुतिय बाइक बनाएको बताउँछन् ।
सो बाईक उनले एकल प्रयासबाट करिब २ महिना लगाएर तयार पारेका हुन् ।
सबै सामान उनले स्थानीय बजारमा खरिद गरेका छन् ।
नेपालमै खरिद गर्नुपर्दा लागत डेढ लाख जति भएको उनी बताउँछन् ।
भारत, चीन वा अन्य देशका सामान प्रयोग गर्न पाउँदा १ लाखभन्दा कम लागतमा इभी बाईक तयार हुने उनी बताउँछन् ।
आँफैले मजबुद सामान प्रयोग गरेको हुँदा २० वर्ष टिक्ने उनको दावी छ । नेपाल सरकारले दर्ताको प्रक्रिया बनाएर बेच्ने व्यवस्था मिलाए यस्ता हज्जारौं बाइक बनाउन सक्ने उनी बताउछन् ।
२ घण्टा चार्ज गरे पश्चात ६० किमी कुद्न सकिने उनले बताए । रिजालले सानै उमेरमा यसअघि उचाई नाप्ने मेशीन, ड्रोन, प्लेन बनाई सकेका छन् । उनको हौसला बढाउन उनका बुवाआमा र उनका शिक्षक साथमै छन् ।
झापा नेशनलको टेलिस्कोप :
प्रदर्शनीको अग्र भागमा ठडिएको देखिन्छ एउटा ठूलो टेलिस्कोप । मेचीनगर-८, स्थित झापा नेशनल अंग्रेजी माविका विद्यार्थीले तयार पारेको सो टेलिस्कोप नचिहाउने सायदै होलान् ।

हरेकजसो विद्यार्थी एक आँखा चिम्लदैं टेलिस्कोपमार्फत नियाली रहेका हुन्छन् आकाश ।
२ लाखबढी लागत पर्ने टेलिस्कोप ऐना र लेन्सको खरिदबाट २०-२५ हजारको लागतमा तयार पारेको विद्यालयका प्रिन्सिपल कमल भेटवालले बताए ।
भेटवालका अनुसार साँझपछी टेलिस्कोपबाट चन्द्रमालगायत सौर्य मण्डललाई नजिकबाट नियाल्न सकिन्छ ।
हाइटेन्सन लाइन फल्ट डिटेक्टर :
प्रदर्शनी अवलोकनको क्रममा निर्णायकको समेत ध्यान खिचेको प्रोजेक्ट हो ‘’हाइटेन्सन फल्ट डिटेक्टर’ ।
आदर्श मावि बुद्धशान्ति-२, जयपुर बुधबारेमा कक्षा ८ मा अध्ययनरत विद्यार्थी विशाल सहनीले तयार पारेको "अट्टोमेटिक भोल्टेज कण्ट्रोलर सर्किट"ले धेरै विद्यार्थीलाई झुम्याएको छ ।

उपल्लो तहमा पढ्नु पर्ने प्रोजेक्ट कसरी तयार पारेउ भन्ने निर्णायकको प्रश्नमा उनी भन्छन्,'यो सबै मैले युट्युब हेरेर सिकेको हुँ ।' उनलाई कक्षा ११ का विज्ञान शिक्षक अरुण ढुङ्गेलले सहयोग गरेका छन् ।
विज्ञान प्रदर्शनीमा आधुनिक सामग्री खरिद गरी जोडेर बनाइएका सामान भन्दा स्थानीयस्तरमा सामग्री जुटाएर बनाएका प्रोजेक्टले आफ्नो ध्यान खिचेको प्रदर्शनी अवलोकनका क्रममा भेटिएका विज्ञान विषय विज्ञ प्रअ महेन्द्रविलास लुईटेलले बताए ।
विद्यालयस्तरमा यस किसिमको प्रदर्शनी आफुले पहिलो पटक देख्न पाएको भोजपुरको टेम्केमौयुङबाट आएकी विज्ञान शिक्षक पुजा गुप्ता बताउँछिन् ।
टेम्केमैयुङस्थित अन्नपूर्ण बाघधन रणदिपा राई माविकी शिक्षक गुप्ताले विद्यार्थीलाई अवलोकनकै लागि २ दिन लगाएर झापा लिएर आएको बताइन् ।
केही कठिनाईका बापजुत विद्यार्थीहरुको अभुतपूर्व क्षमता अवलोकन गर्न पाउँदा आफू अत्यन्त खुशी बनेको फिदिम मावि पाँचथरका विज्ञान शिक्षक नारायण ओझा बताउँछन् ।
उनले आफ्ना ३ विद्यार्थीसहित 'भोलिको सहरको नमुना' शीर्षकको प्रोजेक्ट प्रदर्शनीमा राखेका छन् ।
आइतबार बेलुकी अबेरसम्ममा निर्णायकले सबै प्रदर्शनी अवलोकन गरिसकेको आयोजकले बताएको छ ।
सहभागी ५० मध्ये २९ विद्यालय पुरस्कृत बन्नेछन् । प्रदर्शनमा पहिलो हुनेले ४ लाख पुरस्कार पाउने छ ।
त्यस्तै दोस्रो हुनेले ३, तेस्रोले २ तथा चौथो स्थान हासिल गर्नेले १ लाख नगद प्राप्त गर्नेछ ।
त्यस्तै उत्कृष्ट २५ विद्यालयलाई नगद २५ हजारका दरले पुरस्कृत गरिने छ । प्रदर्शनी सोमबार सकिंदैछ ।