इटाभट्टा । मेचीनगरका शिक्षक तथा कर्मचारीहरुले मंगलबार वृहत् प्रदर्शन गरेका छन् ।
नेपाल शिक्षक महासंघ मेचीनगरले आयोजना गरेको विरोध प्रदर्शन इटाभट्टाबाट सुरु भएर नगरपालिका परिसर पुगेको थियो ।
महासंघको ब्यानरमा इटाभट्टा चोकबाट सुरु भएको प्ले कार्डसहितको विरोध र्याली नगरपालिका परिसर पुगेर संक्षिप्त सभामा परिणत भएको थियो ।
सो अवसरमा बोल्दै शिक्षक नेतृत्वहरुले ऐन शीघ्र जारी हुने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।
उनीहरुले स्थानीय सरकारको गेट अघि, ‘शिक्षक कुट्न पाईँदैन, पुरानो ऐन चाहिँदैन्, पंचायती शिक्षा ऐन खारेज गर, शिक्षा ऐन जारी गर, जस्ता नारा लगाएका थिए ।
सभालाई अखिल नेपाल शिक्षक संगठन मेचीनगर अध्यक्ष अर्जुन कार्की, प्राज्ञ शिक्षक शुभद्रा भट्टराई, नेपाल शिक्षक महासंघ मेचीनगरका निवर्तमान अध्यक्ष तथा प्रअ लेखनाथ पौडेलले सम्बोधन गरेका थिए ।
त्यस्तै प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना, नेपाल राष्ट्रिय शिक्षक संगठन झापा अध्यक्ष लम्बोदर पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन कोशी प्रदेश अध्यक्ष अम्बिका खवास बास्तोलाले सम्बोधन गर्दै शिक्षकका माग मुद्दा पूरा गर्न स्थानीय सरकारमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए ।
विरोध प्रदर्शनमा मेचीनगरका विभिन्न विद्यालयका सयौ शिक्षक कर्मचारीहरु सहभागी भएको महासंघले जानकारी दिएको छ ।
सोही अवसरमा शिक्षक आन्दोलनको क्रममा प्रहरीको दमनबाट काठमाण्डौंमा घाइते भएका शिक्षकहरुलाई ससम्मान नाम वाचन गरिएको थियो ।
महासंघ नगर सहअध्यक्ष मोहन कार्कीको सभापतित्वमा आयोजित कार्यक्रमको संचालन नेपाल शिक्षक महासंघ मेचीनगर संस्थागत सहसचिव डिबेन्द्र तिवारीले गरेका थिए ।
तस्बिरहरु:


