झापा । आन्दोलनमा सहभागी भएर घर फर्कने क्रममा शिक्षकहरु चढेको बस झापाको दुधेमा दुर्घटना भएको छ ।
काठमाण्डौंबाट झापा काँकरभिट्टा आउँदै गरेको प्रदेश १-०१-००१ ख ४२३५ नंको नाइट बस शिवसताक्षी-९, दुधेस्थित मिलन चोकमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बस अनियन्त्रित भइ पल्टिँदा आन्दोलनमा सहभागी भइ घर फर्किरहेका १६ जना शिक्षक घाइते भएको प्रहरीले जनाएको छ ।
घाईते मध्ये श्याम( सन्तोष) आचार्य, सिताराम रिमाल, पदम पौडेल, कमला मगर, शान्ति राई, मीन बहादुर पौडेल, लिला प्रसाद भण्डारी, सिर्जना प्रसाईँको बिर्तासिटी अस्पतालमा उपचार भइ रहेको छ ।
त्यस्तै अन्य घाईते शिक्षकहरु टेकचन्द्र फुयाँल, गोपाल खतिवडा, टेकेन्द्र ढकाल, लोकनाथ ढकाल, पूर्णबहादुर योगी, अनिल बिक, शान्तिप्रसाद उप्रेती र सिताराम अधिकारीको बिएण्सी अस्पतालमा उपचार भइ रहेको छ ।
उपचाररत सबै शिक्षकहरु खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ ।
घाइतेमध्ये केहीको टाउकोमा चोट लागेको र अन्यको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको छ ।
हाल सबैको परिवारका सदस्यहरुको उपस्तिथिमा उपचार भइ रहेकोसमेत अस्पताल स्रोतले जानकारी दिएको छ ।
प्रहरीका अनुसार बस र बसका चालक इलाका प्रहरी कार्यालय झिल्झिलेको नियन्त्रणमा रहेको छ । दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइ रहेकोसमेत प्रहरीले जनाएको छ ।