झापा। माध्यमिक शिक्षा परीक्षा ‘एसइई’ २०८२ मा झापाबाट १७ हजार ६६३ जना सहभागी हुँदै छन् । जसमा छात्रतर्फ ८ हजार ७३१ तथा छात्रतर्फ ८ हजार ९३२ परीक्षार्थी रहेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई झापाले दिएको जानकारी अनुसार सहभागी मध्ये नियमिततर्फ ७ हजार ७२३ छात्रा तथा ७ हजार ६७८ छात्र गरी १५ हजार ४०१ जना सहभागी छन् ।
ग्रेडवृद्धितर्फ १ हजार २९१ छात्रा तथा १ हजार ५३ छात्र गरी २ हजार २६२ परीक्षार्थी सहभागी छन् ।
प्राविधिक धारतर्फ कुल ५ सय ७४ परीक्षार्थी सहभागी हुने छन् ।
हाल झापाका १५ विद्यालयमा प्राविधिक धार सञ्चालनमा छन् । जसमा बाली विज्ञान, सिभिल इन्जिनियरिङ, पशु विज्ञान तथा कम्प्युटर इन्जिनियरिङ समावेश छन् ।
त्यस्तै झापाका साङ्वेद संस्कृत मावि चारपाने, अर्जुनधारा संस्कृत मावि अर्जुनधारा, कृष्ण द्धैपायन गुरुकुल वेद विद्याश्रम मावि भद्रपुर र अनन्तादर्श संस्कृत वेद विद्यालय गरी ४ संस्कृत विद्यालयका ५५ परीक्षार्थी संस्कृत शिक्षातर्फ परीक्षामा सहभागी बन्नेछन् ।
झापाका देवी मावि बिर्तामोड र हिमालय मावि दमकका ६३ जना परीक्षार्थी खुला शिक्षातर्फ सहभागी हुँदा सरस्वती मावि दमकका १ दृष्टिविहीन परीक्षार्थी यो वर्षको एसईईमा झापाबाट सहभागी बन्नेछन् ।
झापाका १ सय ६३ सामुदायिक तथा २ सय ४५ संस्थागत गरी ४ सय ८ विद्यालयका विद्यार्थीहरु एसईईमा सहभागी बन्नेछन् ।
तयारी पूरा : केन्द्रमै परीक्षण
यस वर्ष झापामा एसईई परीक्षा सञ्चालनका लागि ५७ केन्द्र निर्धारण गरिएको झापाका समन्वय इकाई प्रमुख कुमार बस्नेतले जानकारी दिए । ‘यो गत वर्षकै केन्द्र निर्धारणको निरन्तरता हो, बस्नेतले भने,‘बोर्डको निर्देशन अनुसार यो पटक केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्था मिलाउनु पर्नेछ ।
बस्नेतका अनुसार परीक्षा सकिएपछि परीक्षण गरी परीक्षण तथा समपरीक्षण कार्यविधिमा भएको नमुना मार्कस्लिप अनुसारको फर्मेटमा मार्क भरेर इकाईमा बुझाउनु पर्नेछ ।
झापाका ५७ केन्द्रमध्ये प्राविधिक धारतर्फका २ तथा संस्कृततर्फका ४ केन्द्र तय भएका छन् । अन्य केन्द्र साधारण धारतर्फका छन् ।
भोलि बिहीबारबाट सुरुहुने एसईई परीक्षाको सम्बन्धमा सम्पूर्ण तयारी पुरा भएको समन्वय इकाई झापाका प्रमुख बस्नेतले जानकारी दिए ।
बस्नेतका अनुसार प्रश्नपत्र सम्बन्धित स्थानमा पु¥याई सकिएको छ । उत्तर पुस्तिका यसअघिनै सबै केन्द्रमा पु¥याइएको उनले बताए ।
यसअघि झापाका सबै केन्द्राध्यक्षहरुलाई अभिमुखीकरण समेत इकाइले दिइसकेको छ ।
नियमिततर्फ बिहीबारदेखि २६ गते बिहीबारसम्म तथा प्राविधिक धारतर्फ २९ गते आइतबासम्म परीक्षा सञ्चालन हुनेछ ।

परीक्षा हरेक दिन विहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ ।