झापा । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले अदालतको आदेश शिक्षक/कर्मचारीहरुका लागि नभइ विपक्षी सरकारको नाममा जारी भएको बताएका छन् ।
आन्दोलनको २४ औं दिनमा सडकबाटै सम्बोधन गर्दै अध्यक्ष सुवेदीले सम्मानित अदालतको फैसला नेपाली शिक्षकहरुकै पक्षमा भएको दाबीसमेत गरे ।
फैसलाले सरकारलाई शिक्षकहरुले उठाएको विषयमा तत्काल निर्णय गर्दै ऐन जारी गर्नेतर्फ लाग्न बाध्यकारी बनाएको सुवेदीले बताए ।
शिक्षकहरुले आफ्नो सेवा सुविधाको लागि आन्दोलन गरेको भन्ने गलत आरोप आइरहेको बताउँदै अध्यक्ष सुवेदीले सेवा सुबिधाकै लागि भए पुरानै ऐन संशोधन गरेरै काम टर्थ्यो यत्रो संघर्षको जरुरी किन भन्दै प्रश्न गरे ।
१७ ठाउँ टालेको ऐन विस्थापित गर्दै तमाम अभिभावक, विद्यार्थी, कर्मचारी, शिक्षकहरुको हितमा रहने ऐन ल्याउनकै लागि आफुहरु सडकमा आउनु परेको बताउँदै उनले नेपालको शैक्षिक व्यवस्थामा आमूल परिवर्तन ल्याउनु आजको आन्दोलनको मुख्य उद्देश्य रहेको बताए ।
यसैबीच महासंघ अध्यक्ष सुवेदीले अदालतको आदेश पछि आगामी निकास के हुने भन्ने सन्दर्भमा आफुहरु कानुनविदहरु सँग परामर्श गरिरहेको बताएका छन् । उनले यस सन्दर्भमा महासंघले आधिकारिक धारणा सार्वजनिक गर्ने समेत बताए ।
महासंघ २४ औं दिनदेखि सडक आन्दोलनमा रहेका बखत बिहीबार सर्वोच्च अदालतले आदेश जारी गर्दै ३ दिन भित्र शिक्षक विद्यालय फर्कने वातावरण बनाउन भनेको थियो ।