इटाभट्टा । विगत तीन महिनादेखि कुवेतमा बन्धक बनाईएकी मेचीनगरकी सपना ठटाललाई उद्दार गराई दिन परिवारले सार्वजनिक अपिल गरेको छ ।
मेचीनगर-८, मेचे गाउँ निवासी २८ वर्षीय सपना ठटाल काठमाण्डौंस्थीत अल्फा क्लब मेनपावरमार्फत ७ महिना अघि कुवेत पुगेकी थिइन् ।
कुवेतमा बन्धक बनाईएकी आफ्नी छोरीको सकुशल उद्दार गरिदिन आमा कृष्णमाया परियारले सबैमा अनुरोध गरिन् ।
हाल उनी कुवेतस्थीत अल्जाहारा सहर घर नं १७ मा बन्धक अवस्थामा रहेको सपनाका श्रीमान श्यामबहादुर दर्जीले पत्रकारसमक्ष बताए ।
परिवारको अनुरोधमा शनिबार प्रेस क्लब मेचीनगरले सपनाको अवस्थाबारे जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
मेन पावरका एजेण्ट नारायण थापाले काम लगाईदिने भन्दै सपनालाई कुवेत पुर्याएर अलपत्र बनाएको सपनाका श्रीमान दर्जीले बताए ।
सपना गत पुस २९ गतेदेखि परिवारको सम्पर्कमा थिइनन् । तीन महिनादेखि सम्पर्क विहीन सपनाले १० दिन अगाडि साथीको मोबाइलबाट फोन गरेर आफुलाई बन्धक बनाएर राखेको उनका श्रीमानलाई बताएकी थिइन् ।
उनका श्रीमानका अनुसार भाउजू पुष्पा दर्जीमार्फत एजेन्ट थापासँग सम्पर्क भएको थियो ।
हाल एजेन्ट थापालाई सम्पर्क गर्दा कुवेतको साहुले फिरौती बापत ९ लाख रुपैयाँ माग गरिरहेको र सो रकमको व्यवस्था गर्न थापाले भनेको सपनाकी दिदी सम्झना ठटालले बताईन् ।
पारिवारिक अवस्था कमजोर रहेका कारण सपनालाई नेपाल झिकाउन नसकेको भन्दै उनलाई नेपाल ल्याउन आवश्यक पहल गरिदिन सरोकारवाला सबैमा परिवारले अनुरोध गरेको छ ।
बन्धक बनाइएकी सपनाका ९ वर्ष र १४ महिनाका दुई छोराहरु छन् ।