बाहुण्डाँगी । मेचीनगर-४, बाहुण्डाँगी बजारबाट पूर्व करिब ५ सय मिटर दुरी पार गरेपछि आउँछ मेची खोलाको किनार । त्यही किनाराकै छेउमा धमाधम बन्दै छ "प्रकृति पार्क" ।
पार्कको माथिल्लो भागमा हात्तीका २ मूर्ति उभिएका छन् । सामुन्नेमै छन् हुटिट्याउँ । हात्ती मेची खोलाको बगरमा प्रवेश गर्नासाथ हुटिट्याउँ उड्नेगरेको छ ।
सोही अवस्थालाई मूर्तिकलामा झल्काउने प्रयास गरिएको छ ।पार्कले यतिबेला रुपरेखा लिंदैछ । साढे तीन हेक्टर क्षेत्रफललाई प्रकृति पार्क कायम गरी हाल धमाधम वृक्षारोपणको काम भइरहेको वडा नं ४ का अध्यक्ष अर्जुन कार्कीले बताए ।
पार्कमै हात्तीको मुखाकृतबाट झर्ने २२ धारा बनाईएको छ । जसबाट हात्तीस्नानका लागि पर्यटकलाई आकर्षण गर्ने प्रयत्न गरिएको अध्यक्ष कार्कीले बताए ।
"हात्ती नेपालतर्फ प्रवेश गर्दा यहाँ रोपिएका बगैचाका आहारमा हात्ती अल्मलिने छन् कार्कीले भने,-हात्तीलाई चरणको लागि हैन तर, हात्ती पार्कमै रोकिएर फर्कने अवस्था बन्छ र सोही दृश्य हेर्न पर्यटक आउने छ्न् ।"पार्कमा अहिले हात्तीका रुचिकर विरुवाहरु बडहर, हात्तीफल, बर-पिपल तथा अन्य गायो, अमला, इन्चाक, शिरिसको प्रजाती तित्री, लिच्ची अम्बा, कुसुम, चिउरी, जमुनालगायतका बिरुवा रोपिएको अध्यक्ष कार्कीले बताए ।
अध्यक्ष कार्कीले गत सिजनमा ट्यान्करबाट पानी हालेर बिरुवा बचाउने यत्न गरिएको बताए । हात्ती पीडित क्षेत्रको रुपमा चिनिएको बाहुण्डाँगीमा चुनौतीलाई अवसरमा बदल्ने सोचका साथ प्रकृति पार्कको परिकल्पना गरिएको वडा अध्यक्ष कार्कीले बताए ।
हालसम्म २ हजार बिरुवा रोपियो
५ हजार बिरुवा रोप्ने लक्ष्यका साथ थालिएको वृक्षारोपण अभियानमा हालसम्म २ हजार बिरुवा रोपिएको छ ।
बुधबार बाहुण्डाँगी जेसीजले आयोजना गरेको वृक्षारोपणमा ५ सयबढी बिरुवा रोपिएको अध्यक्ष देबु बानियाँले बताए । वृक्षारोपणमा चारआली, धुलाबारी जेसीज, मेचीनगर लेडी जेसीज र आरआरटी बाहुण्डाँगीले सहआयोजना गरेका थिए ।
यसअघि युवा संघ नेपालले पनि वृक्षारोपण गरेको थियो ।
पार्कको लागि आवश्यक पर्ने सम्पूर्ण बिरुवा डिभिजन बन कार्यालय झापाले उपलब्ध गराईरहेको छ ।
तस्वीरहरु: शंकर लुईंटेल/ न्युटन कार्की