मेचीनगर । मेचीनगर-१२ स्थित कालिका सिमसार क्षेत्रमा मारिएको हात्तीको सन्दर्भमा वन कार्यालनै जिम्मेवार बन्नुपर्ने संरक्षणकर्मीहरुले बताएका छन् ।
![Messenger_creation_c44ebf5d-e7e9-4c0b-b3c3-826db4a18b41-1713444121.jpeg](https://www.sudurpurwa.com/uploads/posts/Messenger_creation_c44ebf5d-e7e9-4c0b-b3c3-826db4a18b41-1713444121.jpeg)
बिहीबार काँकरभिट्टामा पत्रकारहरुसँग कुराकानी गर्दै वन्यजन्तु संरक्षणकर्मी शंकर लुईंटेलले मृत भेटिएको हात्तीको पोष्टमार्टममा वन कार्यालयका प्रमुखनै अनुपस्थित बन्नु शंकास्पद रहेको बताए ।
उनले पोष्टमार्टम पछि हात्ती गोली हानेर मारिएको पुष्टि हुँदासमेत हात्तीको मृत शरिरबाट गोली निकालेर अनुसन्धान नगर्नु गैर जिम्मेवारीपनाको पाराकाष्ठा भएको टिप्पणी गरे।
लामो समयदेखि हात्ती संरक्षणको क्षेत्रमा काम गरिरहेका लुईँटेलले झापामा हात्ती संख्या बढेको तथ्यांक देखाउने वन कार्यालयले यसको संरक्षणमा कुनै काम गर्न नसकेको आरोप लगाए ।
मेची चरा तथा वन्यजन्तु संरक्षण समाज अध्यक्ष देवेनकुमार खरेलले पेशेवर तस्करहरुले स्थानीय तस्करहरुसँग मिलेर नै हात्ती मारेको दाबी गरे । उनले झापामै पहिलो पटक गोली हानेर हात्ती मारिंदासमेत सम्बन्धित निकाय मौन रहनु आपत्तिजनक रहेको बताए ।
![Messenger_creation_10cc5988-5872-4b73-a558-ba956134b896-1713444162.jpeg](https://www.sudurpurwa.com/uploads/posts/Messenger_creation_10cc5988-5872-4b73-a558-ba956134b896-1713444162.jpeg)
खरेलले हात्ती मारिएको विषयमा स्थानीय सरकार, सामुदायिक वन तथा जिल्ला वन कार्यालयको आधिकारिक धारणा आउनु पर्नेमा जोड दिए ।
मेचीनगर-४ का अध्यक्ष अर्जुनकुमार कार्कीले मुख्य राजमार्गको निकटमा रहेको वन क्षेत्रमा हात्ती गोली हानेर मारिनुले तस्करहरुले स्थानीय सरकारलाई ठाडो चुनौती दिएको धारणा राखे ।
वडाध्यक्ष कार्कीले त्यतिको सुरक्षीत स्थानमा हात्ती मारिनुले सुरक्षा निकाय, सामुदायिक वन र जिल्ला वन कार्यालयको निरीहता छर्लङ्ग भएको बताए ।
उनले अनुसन्धानमा उत्कृष्ट देखिएको नेपाल प्रहरी तथा वन्यजन्तु रक्षकहरुले हात्ती मारिएको ४ दिनपछि मात्र थाहा पाउनु लज्जास्पद र शंकास्पद रहेको बताए ।
अध्यक्ष कार्कीले आसपासका जिम्मेवार व्यक्तिहरुसँगको मिलेमतोमा तस्करहरुले हात्ती मारेको बताए ।
पत्रकारहरुसँगको कुराकानीमा उनीहरुले हात्ती मारिएको विषयमा जिम्मेवार निकाय मौन देखिएकाले विज्ञप्ति, सुरक्षा निकायको ध्यानाकर्षण तथा आवश्यक परे अदालतमा किटानी जाहेरीसमेत दर्ता गर्ने बताएका छन् ।
झापाको मेचीनगर-१२ स्थित कालिका सामुदायिक वनको सिमसार क्षेत्रमा गत मंगलबार हात्ती मारेर दारा निकालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।